तानसेन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय र सहकार्य हुन सके मात्रै नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्न सकिने बताएका छन् ।
तीन तहका सरकारबीच समन्वय कमजोर हुँदा नागरिकले प्राप्त गर्ने सेवामा समस्या आउन सक्ने उल्लेख गर्दै उनले सहअस्तित्वको भावनासहित अघि बढ्नुपर्नेमा जोड दिएका हुन् ।
तानसेन नगरपालिका कार्यालयले शनिबार आयोजना गरेको अन्तरपालिका सिकाइ आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सरकारहरूबीचको समन्वय र सहकार्यलाई प्रभावकारी बनाउन आवश्यक कानुनी तथा संस्थागत व्यवस्था गर्नुपर्ने बताए ।
सातै प्रदेशका प्रतिनिधिहरू ऐतिहासिक तथा सांस्कृतिक नगरी तानसेनमा भेला हुनु महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनले विभिन्न स्थानीय तहले हासिल गरेका उपलब्धि, अनुभव र असल अभ्यासबारे छलफल हुने विश्वास व्यक्त गरे । यस्ता कार्यक्रमबाट साझा निष्कर्ष निकाल्दै एकअर्काका सफल अभ्यासलाई आफ्नो कार्यक्षेत्रमा लागू गर्न सकिने उनको भनाइ थियो ।
प्रदेश र स्थानीय तहबीचको सहकार्यलाई प्रभावकारी बनाउन आवश्यक कानुन, त्यसको कार्यान्वयन र परिणामका विषयमा गहन छलफल हुनुपर्ने उनले बताए । स्थानीय तहले आफ्नो कार्यक्षेत्रमा आवश्यक कानुन निर्माण गरिसकेको भए पनि तीन तहका सरकारबीचको समन्वयलाई थप व्यवस्थित बनाउन साझा समझदारी आवश्यक रहेको उनको भनाइ थियो ।
अन्य प्रदेश तथा स्थानीय तहका अनुभव र सिकाइलाई आत्मसात् गर्न सके विकास, सुशासन र सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने मुख्यमन्त्री आचार्यले बताए ।
लुम्बिनी प्रदेश पर्यटकीय सम्पदा, ऐतिहासिक महत्त्व र सांस्कृतिक पहिचानले समृद्ध रहेको उल्लेख गर्दै उनले तानसेनमा आयोजित कार्यक्रमले स्थानीय तहबीच अनुभव आदानप्रदान र आपसी सहकार्यको आधार बलियो बनाउने विश्वास व्यक्त गरे ।
मङ्सिर १२ र १३ गतेसम्म सञ्चालन हुने कार्यक्रममा विभिन्न स्थानीय तहका प्रतिनिधिहरूबीच अन्तरपालिका सिकाइ, अनुभव आदानप्रदान र आपसी सहकार्यका विषयमा छलफल भइरहेको छ ।








