सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चुनावमा मत प्राप्त भए पनि नभए पनि कर्णाली प्रदेशलाई पार्टीको प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
शनिबार वीरेन्द्रनगरमा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले विगतमा राज्यबाट उपेक्षामा परेको कर्णालीको विकासलाई प्राथमिकताका साथ अघि बढाइने बताएका हुन् ।
गत फागुनमा भएको निर्वाचनमा कर्णालीमा पार्टीको अपेक्षाअनुसार नतिजा आउन नसकेको स्वीकार गर्दै उनले रास्वपाको राजनीतिक उपस्थिति र उम्मेदवारको जितहारले कर्णालीको विकास प्रभावित हुन नहुने बताए ।
‘कर्णालीले विकास मागेको छ, खोजेको छ । चाहे जीवनभर हारौँ, रास्वपा सरकारमा रहुन्जेलसम्म कर्णालीले एक जना पनि सांसद नपठाओस्, एक भोट पनि नदियोस्, तर कर्णाली रास्वपाको प्राथमिकतामा रहनेछ,’ उनले भने ।
लामिछानेले कर्णालीसँग विकासका नाममा कुनै राजनीतिक सौदाबाजी नगर्ने पनि स्पष्ट पारे । आफ्ना उम्मेदवारलाई जिताए मात्रै पुल, सडक र विकासका योजना उपलब्ध गराउने सोच पार्टीको नरहेको उनको भनाइ थियो ।
कर्णालीका समस्या र आवश्यकतालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धतासहित आफू आएको उल्लेख गर्दै उनले राजनीति केवल चुनाव जित्ने माध्यम नभएको बताए । चुनाव राजनीतिभित्रको निरन्तर प्रक्रिया भए पनि चुनाव मात्रै राजनीति नभएको रास्वपाको बुझाइ रहेको उनले बताए ।
विगतदेखि नै विकास र अवसरमा पछाडि परेको कर्णालीलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा जोड दिँदै लामिछानेले पार्टीको राजनीतिक लाभभन्दा नागरिकको आवश्यकता महत्त्वपूर्ण हुने धारणा राखे ।








