सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्तालाई अनुशासनमा रहेर राजनीतिक गतिविधि सञ्चालन गर्न निर्देशन दिएका छन् ।

शनिबारदेखि सुरु भएको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले पार्टीलाई व्यवस्थित र प्रभावकारी बनाउन अनुशासन सबैभन्दा महत्त्वपूर्ण पक्ष भएको बताए ।

उनले प्रशिक्षणको मुख्य उद्देश्य ज्ञान र सीप हासिल गर्नु मात्र नभई अनुशासन सिक्नु पनि रहेको उल्लेख गरे । पार्टीभित्र अनुशासन कायम गर्न नसके राजनीतिक जीवनलाई व्यवस्थित रूपमा अघि बढाउन कठिन हुने उनको भनाइ थियो ।

‘प्रशिक्षणको सबैभन्दा महत्त्वपूर्ण कुरा अनुशासन रहेछ । पार्टीमा अनुशासन भएन र हामी आफैँ अनुशासित हुन सकेनौँ भने सिङ्गो राजनीतिक जीवनलाई कसरी अनुशासित बनाएर अघि बढाउन सक्छौँ ?’ उनले प्रश्न गरे ।

प्रशिक्षणमा सहभागी नेता तथा कार्यकर्तामध्ये भविष्यमा राष्ट्रपति, सभामुख र मन्त्री बन्न सक्ने क्षमता भएका व्यक्तिहरू रहेको उल्लेख गर्दै उनले उनीहरूको राजनीतिक भविष्य अनुशासन, मेहनत, परिश्रम र प्रतिबद्धतामा निर्भर रहने बताए ।

लामिछानेले प्रशिक्षण अवधिभर मोबाइल फोन बन्द गरेर कार्यक्रमका गतिविधिमा केन्द्रित हुनसमेत सहभागीहरूलाई निर्देशन दिएका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय