सुनसरी । गृहमन्त्री सुधन गुरुङले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गर्दै बिरामीको सुरक्षा र स्वास्थ्य सेवा प्रवाहलाई सहज बनाउन निर्देशन दिएका छन् ।
अनुगमनका क्रममा उनले प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीले भोग्नुपर्ने समस्या, उपचार सेवाको सहजता तथा अस्पताल परिसरमा हुन सक्ने बिचौलियाको प्रभावबारे जानकारी लिएका थिए ।
गृहमन्त्री गुरुङले बिरामीको हित, स्वास्थ्य सेवा र सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न प्रतिष्ठानका पदाधिकारीलाई निर्देशन दिए । बिरामीलाई बिचौलियामार्फत अन्यत्र लैजाने तथा अनावश्यक रूपमा एम्बुलेन्स प्रवेश गराउनेजस्ता गतिविधि नियन्त्रण गर्न पनि उनले आग्रह गरे ।
सो अवसरमा प्रतिष्ठानकी उपकुलपति प्राडा स्मृति कार्की, निर्देशक इन्द्रकुमार बिचौलियालगायत पदाधिकारीले अस्पतालबाट प्रवाह भइरहेका स्वास्थ्य सेवा, सेवा सुधारका लागि भइरहेका प्रयास तथा आगामी योजनाबारे गृहमन्त्रीलाई जानकारी गराएका थिए ।
गृहमन्त्री गुरुङले प्रतिष्ठानमा एमआरआई सेवा सञ्चालनको अवस्थाबारे पनि चासो राखेका थिए । उक्त सेवा सञ्चालनसम्बन्धी प्रक्रियामा कुनै समस्या भए जानकारी गराउन उनले निर्देशन दिएका छन् ।
यसैबीच, गृहमन्त्री गुरुङले धरान उपमहानगरपालिका–१८ स्थित नेपाल बौद्ध गुम्बाको समेत अवलोकन गरेका छन् । उनी आजै इटहरीमा आयोजना हुने तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को १५औँ राष्ट्रिय पार्षद् सभामा सहभागी हुने कार्यक्रम रहेको छ ।








