काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नागरिकको स्वतन्त्रता र लोकतन्त्रको रक्षा गर्नु कांग्रेसको प्रमुख जिम्मेवारी भएको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नागरिकलाई प्रश्न गर्न र आफ्नो विचार व्यक्त गर्नबाट रोक्ने प्रयास स्वीकार्य नहुने बताए । तर्साउने, धम्क्याउने वा लाञ्छित गर्ने प्रयासबाट आफूहरू नडराउने उल्लेख गर्दै पौडेलले कांग्रेस डराए देशको लोकतन्त्र नै संकटमा पर्ने धारणा राखे ।
उनले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिएपछि नयाँ प्रतिनिधि निर्वाचित हुनुपर्ने भए पनि सरकारले निर्वाचनको तयारी नगरेको टिप्पणी गरे ।
संघीय निर्वाचनमा अपेक्षित सफलता हासिल गर्न नसके पनि आगामी स्थानीय तह निर्वाचनमा कांग्रेसलाई जिताएर जनतामाझ पार्टीप्रतिको विश्वास कायम रहेको प्रमाणित गर्नुपर्ने उनको भनाइ थियो ।
महामन्त्री पौडेलले आगामी निर्वाचनमा उम्मेदवार छनोटका लागि प्राइमरी प्रक्रिया लागू गर्नुपर्ने धारणा पनि राखे ।








