चितवन । भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा फ्लडलाइट र प्यारापिट निर्माणका लागि लागत इस्टिमेट तयार गर्न निर्देशन दिएका छन् ।

रंगशालाको निरीक्षणपछि मन्त्री लम्सालले तीन महिनाभित्र लागत इस्टिमेट तयार गरी मन्त्रालयमा पठाउन निर्देशन दिएका हुन् । आवश्यक इस्टिमेट प्राप्त भएपछि मन्त्रालयले बजेट विनियोजन गर्ने उनले बताए ।

मन्त्री लम्सालले आगामी सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) चितवनमै आयोजना गर्न सक्ने गरी निर्माणको कामलाई तीव्रता दिनुपर्नेमा जोड दिए । हाल रंगशालामा प्यारापिट, खेलमैदान र दुईवटा भीआईपी टावर निर्माणको काम भइरहेको छ ।

रंगशालाको पहिलो चरणको निर्माणका लागि भरतपुर महानगरपालिकाले २०८१ असार २४ गते हिमालयन जेभीसँग ठेक्का सम्झौता गरेको थियो । ३० महिनाको अवधि तोकिएको उक्त सम्झौताको म्याद आगामी पुस २७ गते सकिँदै छ । हालसम्म निर्माणको भौतिक प्रगति ६८ प्रतिशत मात्रै पुगेको छ । ठेकेदार कम्पनीले म्याद थपका लागि माग गर्ने तयारी गरेको छ ।

सुरुमा ७८ करोड ५० लाख ९१ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको आयोजनाको लागत भेरिएसनपछि बढेर ८६ करोड २४ लाख ८४ हजार रुपैयाँ पुगेको छ ।

विसं २०७५ माघ १६ गते धुर्मुस–सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच सम्झौता भएपछि रंगशाला निर्माणको प्रक्रिया अघि बढेको थियो । २०७६ मङ्सिरदेखि प्रारम्भिक निर्माण सुरु गरिएको भए पनि आर्थिक स्रोत जुटाउन नसकेपछि फाउन्डेसनले २०७८ सालदेखि काम रोकेको थियो ।

पछि फाउन्डेसनले रंगशालाको स्वामित्व भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरेपछि महानगरपालिकाले ठेक्का प्रक्रियामार्फत निर्माणलाई पुनः अघि बढाएको हो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय