काठमाडौं । खसीको मासु भन्दै बाख्रा तथा पाठीको मासु बिक्री गरेको आरोपमा काठमाडौंको टुकुचाबाट आठ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका–२८ स्थित टुकुचा खसी बजारमा बाख्रा तथा पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री भइरहेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

शनिबार बिहान करिब ४ बजे प्रहरी टोलीले बजारमा अनुगमन तथा जाँच गर्दा आठ जनाले करिब ५६७ किलो बाख्राको मासु भ्यान र पिकअपमा लोड गरिरहेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–२ घर भई टेकु बस्ने ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुको सिकोट घर भई टुकुचा बस्ने ३२ वर्षीय करण बानियाँ, ललितपुरको महालक्ष्मी नगरपालिका–५ का ५० वर्षीय मनोज थापा र धादिङको गजुरी गाउँपालिका–१ घर भई बागबजार बस्ने २६ वर्षीय सनम तामाङ रहेका छन् ।

त्यस्तै, धादिङका २२ वर्षीय राजु लामा, काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ का २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाको मेलुङ गाउँपालिका–१ का २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–२ घर भई मैजुबहाल बस्ने २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन् ।

पक्राउ परेका आठै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय