चितवनस्थित कृष्णपुरका विनोद ढकाललाई कक्षा ९ मा अध्ययनरत आफ्नो छोराले कपाल काटेर छोटो बनाओस जस्तो लाग्छ । उनले भने,“विद्यालयबाट बाबुलाई कपाल कटाउन लगाउनुपर्यो भनेर टेलिफोन कल पनि आएको छ । बाबुलाई कपाल छोटो बनाउन भन्दा मान्दैन । जबरजस्त गर्नुभएन ।”

भरतपुर–१० का बुद्धिकान्त न्यौपानेको गुनासो पनि उस्तै खालको छ । उनी कक्षा १२ मा अध्ययनरत छोरालाई कपाल काट्न भन्न छाडेको बताउँछन् । उनले भने, “ठूलो छोरालाई कपाल काट्न भन्न छाडेँ, कक्षा ७ मा पढ्ने कान्छो छोराले पनि टेर्न छाड्यो ।” यी प्रतिनिधिपात्र मात्रै हुन्, पछिल्लो समय अधिकांश अभिभावकको गुनासो ‘छोराहरुले कपाल छोटो बनाउनै मान्दैनन्’ भन्ने नै हुने गरेको छ ।

विद्यालय र उच्च शिक्षा तह अध्ययनरत गरेका विद्यार्थीहरू लामो कपाल पाल्न सौखिन हुन थालेका छन् । कतिपयले त लामो कपाल मिलाउन (कोर्न)समेत इन्कार गर्ने गर्दछन् । जस्तो छ उस्तै छाड्ने उनीहरूको बानी हुने गरेको छ । विद्यालयहरूले कपाल काट्न दबाब दिन नहुने भएपछि यस्ता विद्यालयले अभिभावकको साहारा लिन थालेका छन् ।

विद्यार्थीले कपाल काट्न दबाब दिएको जनाउँदै हेलो सरकार र प्रहरीमा समेत उजुरी दिने गरेको पाइएको छ । भरतपुर महानगरपालिका, शिक्षा महाशाखाका प्रमुख सुवास आचार्य विद्यार्थीहरूले विद्यालयले दबाबमा कपाल काट्न लगायो भनेर हेलो सरकारमा उजुरी दिने गरेको जानकारी आफूकहाँ आएको बताउँछन् ।

उनका अनुसार विशेष गरेर हजुरबुबा आमासँग बस्ने, होस्टल (आवास)मा बस्ने र अभिभावकभन्दा टाढा रहेका विद्यार्थीले कपाल छोटो बनाउन नमान्ने गरेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) चितवनका अध्यक्ष मदन पुरी विद्यार्थीलाई कपाल काट्न भन्न छाडेको बताउँछन् ।

निजी विद्यालय विरुद्ध हेलो सरकारमा उजुरी परेको जनाउँदै उनले देशभरका ३५ भन्दा बढी विद्यालयविरुद्ध विद्यालयले जबर्जस्ती कपाल काट्न लगाउने गरेको उजुरी परेको जानकारी पाएको बताए । उनले भने, “अहिले कपाल काट्ने विषयमा केही गर्न सक्ने अवस्था नै छैन । कक्षा ९ देखि १२ सम्म पढ्ने विद्यार्थीमा यस्तो अवस्था छ ।”

सरकारले स्वीकृत गरेको शिक्षा नियमावली (१०औँ संशोधन)मा जबर्जस्ती विद्यार्थीको कपाल काट्न नपाउने व्यवस्था राखिएको छ । विद्यालयहरूले विद्यार्थीको इच्छाविपरीत कपाल काट्ने र काट्न लगाउने गरेको गुनासो आएपछि सरकारले ऐनमा नै यो व्यवस्था गरेको हो ।

नियमावलीको नियम २५ मा कुनै पनि अवस्थामा विद्यार्थीको शारीरिक, मनोवैज्ञानिक तथा मनोसामाजिक अवस्थामाथि नकारात्मक असर पर्ने गतिविधि विद्यालय परिसर वा कक्षा कोठाभित्र सञ्चालन गर्न गराउन नदिने भनिएको छ ।

विद्यार्थीको शारीरिक स्वरूप, पहिरन, शृङ्गार वा साजसज्जाका आधारमा होच्याउने लाञ्छित गर्ने वा चरित्रमाथि प्रश्न उठाउन नपाइने नियमावलीमा उल्लेख गरिएको छ ।

वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरका मनोविज्ञान विषयका उपप्राध्यापक डा सुरेन्द्र घिमिरे पहिलेपहिले विद्यार्थीहरू क्याम्पस पढ्ने समयमा मात्रै चलचित्र हेरेर विश्वका गतिविधि थाहा पाउने र सोको सिको गर्ने भए पनि अहिले सानै उमेरदेखि विश्वका गतिविधि देख्न पाउँदा त्यसप्रति नक्कल गर्ने झुकाव बढेको बताउँछन् ।

उनले भने, “नक्कल गर्ने मानिसको नैसर्गिक गुण हो । जे चिज ‘सेलिब्रेटी’ले गर्छन्, त्यसको नक्कल उनीहरूले गर्न चाहन्छन् ।” इन्टरनेट र सामाजिक सञ्जालको पहुँच सानै उमेरदेखि हुँदा अहिले किशोर अवस्थादेखि नै त्यसको सिको गर्न थालेको उनको बुझाइ छ । उनले भने, “बच्चाले मोबाइलमा सेलिब्रेटी देखेको छ, पहिले ठूलो भएपछि देख्थ्यो, अहिले त्यो उमेर तल झरेको छ । कपाल पाल्ने, नराम्रो होइन ।”

यद्यपि कपाल पाल्दै गर्दा त्यसको स्याहारसुधारमा लाग्ने खर्च र समयका कारण पढाइमा पर्ने असर भने कायमै रहेको उनी बताउँछन् । घर, विद्यालय सबैतिरबाट किशोरावस्थामा कपाल नपाल्न आग्रह गरिए पनि नटेर्नुलाइ भने आज्ञाकारिताविरुद्धको साङ्केतिक विरोधका रूपमा लिन सकिने उनी बताउँछन् ।

विशेषगरी विद्यालय तथा कलेज तहका किशोरहरू छोटो कपालको परम्परागत शैलीभन्दा फरक, आफूलाई आकर्षक र आधुनिक देखाउने शैलीतर्फ आकर्षित हुन थालेको देखिन्छ । सामाजिक सञ्जाल, चलचित्र, सङ्गीत तथा विदेशी फेसनको प्रभावले यो प्रवृत्तिलाई थप बढावा दिएको पाइन्छ ।

कपाल लामो हुँदा सफा गर्न गाह्रो हुने, दैनिक हेरचाहामा समय खर्च गर्नुपर्ने, खर्चिलो हुने र स्याहार सुधार गर्न नसकेमा जुम्रा, चाया परेर स्वास्थ्यमा असर पार्ने विज्ञहरू बताउँछन् । धेरै लामो वा बाक्लो कपालमा पसिना र फोहर जम्ने हुँदा विशेषगरी गर्मीमा समस्या हुने गर्दछ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय