काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको पहिलो दिन पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्।
ललितपुरमा सोमबारबाट सुरु भएको बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको प्रतिवेदन अध्ययनका लागि सम्पूर्ण सदस्यहरूलाई वितरण गरिएको एमाले नेता शेरधन राईले जानकारी दिए। मंगलबार अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि औपचारिक छलफल सुरु हुने उल्लेख गर्दै उनले छलफलमा भाग लिने प्रत्येक केन्द्रीय कमिटी सदस्य तथा पदाधिकारीलाई आफ्नो विचार राख्नका लागि ३ मिनेटको समयसीमा निर्धारण गरिएको बताए। बैठकले ३ दिनभित्र सम्पन्न गर्ने गरी कार्यसूचीलाई अन्तिम रूप दिएको राईले बताए।
बैठकले विधानअनुसार केन्द्रीय कमिटीमा मनोनीत गर्नुपर्ने निश्चित सदस्यहरूको मनोनयन गर्ने, पोलिटब्युरो तथा स्थायी समितिको गठन, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्चहरूको गठन गर्ने नेता राईले जानकारी दिए।








