काठमाडाैँ। नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर वडा अधिवेशन प्रक्रिया तीव्र रूपमा अघि बढेको छ। पार्टीका अनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका छन्।
कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन हुँदैछ। त्यसअघि निर्धारित कार्यतालिकाअनुसार वडा अधिवेशन सञ्चालन भइरहेको हो।पार्टीले ताप्लेजुङदेखि कञ्चनपुरसम्मका ६३ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेको जनाएको छ। सम्पन्न भएका जिल्लामा काठमाडौं, ललितपुर, भक्तपुर, झापा, मोरङ, सुनसरी, चितवन, मकवानपुर, कास्की, गोरखा, रुपन्देही, बाँके, सुर्खेत, कैलालीलगायत छन्।त्यस्तै, धनुषा क्षेत्र नम्बर ४, मोरङ क्षेत्र नम्बर ६, नवलपरासी क्षेत्र नम्बर २, सप्तरीका क्षेत्र नम्बर २ र ४, सिरहा, रौतहट क्षेत्र नम्बर १ तथा सर्लाही क्षेत्र नम्बर २ का वडा अधिवेशन अन्तिम चरणमा पुगेका छन्।
अछाममा तीन, डडेल्धुरामा चार, रुपन्देहीमा तीन र महोत्तरीमा आठ वडा अधिवेशन सम्पन्न हुन बाँकी रहेको कांग्रेसले जनाएको छ।
यसैगरी धादिङ, नुवाकोट तथा आज सम्पन्न हुन बाँकी रहेका अन्य वडाको अधिवेशन असोज ६ गते मंगलबार पनि जारी रहने कांग्रेसले जनाएको छ।
कांग्रेसका सदस्य–सचिव राजु कटुवालद्वारा जारी विज्ञप्तिमा वडा अधिवेशन प्रक्रिया उत्साहप्रद रूपमा अघि बढिरहेको उल्लेख गरिएको छ।








