काठमाडौं । नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एमाले असफल भएको दाबी गरेका छन् ।

सोमबार संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै सांसद राईले एमालेको वर्तमान अवस्था र निर्वाचनमा पार्टीले व्यहोरेको पराजयका कारण जनताले नै प्रस्ट रूपमा देखिरहेको बताएका हुन् ।

उनका अनुसार पार्टीको आन्तरिक समीक्षा प्रतिवेदनले एमालेको निर्वाचनमा भएको हारका कारण र त्यसका लागि जिम्मेवार पक्षबारे समेत उल्लेख गरिसकेको छ । ओली नेतृत्वमा पार्टी असफल भएको हो वा होइन भन्ने प्रश्नमा राईले त्यसबारे थप टिप्पणी गरिरहन आवश्यक नरहेको बताए ।

‘फागुन २१ गतेको निर्वाचनमा जनताले हामीलाई सानो आकारमा खुम्च्याएका छन् । यसको कारण खोज्न वडा तहसम्म छलफल गरेर कार्यदलले प्रतिवेदन तयार पारिसकेको छ । सो प्रतिवेदन अब केन्द्रीय कमिटीमा प्रस्तुत हुनेछ,’ उनले भने ।

‘सफल र असफल भएको कुरा त घामझैँ छर्लङ्ग छ । यसमा मैले बोलिरहनुपर्दैन, जनताले देखिरहेका छन्,’ सांसद राईले भने ।

यसैगरी, राजनीतिक विश्लेषक भरत दाहालको पक्राउ प्रकरणबारे टिप्पणी गर्दै सांसद राईले लोकतन्त्रमा नागरिकले आफ्ना विचार लेख्न र बोल्न पाउनुपर्ने बताए ।

सरकारले विचार अभिव्यक्तिकै कारण नागरिकलाई पक्राउ गर्नु उचित नभएको भन्दै उनले उक्त घटनाको विरोध गरे । सरकारको यस्तो कदमलाई उनले ज्यादतीको संज्ञा दिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय