काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) को हालै सम्पन्न निर्वाचनमा फुर गेल्जे शेर्पा नेतृत्वको माओवादी निकट समूहले सानदार विजय हासिल गरेको छ। कांग्रेस, एमाले र समाजवादीहरूको संयुक्त गठबन्धनलाई पराजित गर्दै शेर्पा समूहले प्रथम उपाध्यक्ष र एक सदस्य बाहेक सबै पदमा जित निकाल्दै संस्थाभित्र आफ्नो बलियो पकड कायम गरेको हो।
निर्वाचनमा अध्यक्ष पदका लागि प्रतिस्पर्धा गरेका फुर गेल्जे शेर्पाले ३४२ मत प्राप्त गरी कुल बहादुर गुरुङलाई (२८८) हराउँदै विजयी बने। वरिष्ठ उपाध्यक्षमा इश्वरी पौडेलले ३४५ मत ल्याउँदै विजय हात पारे भने प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पाले ३५९ मत प्राप्त गर्दै काजी शेर्पालाई (२५६) पराजित गरे। द्धितीय उपाध्यक्षमा बोध राज भण्डारी ३६८ मतसहित निर्वाचित भए भने उनका प्रतिद्वन्द्वी धन बहादुर गुरुङले २३८ मत पाए।
महासचिवमा राजेन्द्र बहादुर लामाले ३१८ मत ल्याउँदै विमल नहर्की (२०९) र शिव सापकोटा (६८) लाई पछि पारे। सचिव पदमा चन्दन थापाले ३५८ मत प्राप्त गरी विजयी भए भने ङिमा दिकी शेर्पाले २४४ मत पाए।
कोषाध्यक्ष पदमा भने रोचक अवस्था सिर्जना भयो। ङिमा नुर्बु शेर्पा र सुमी लामाबीच ३०४–३०४ मत बराबरी भएपछि दुवैले आधा–आधा कार्यकाल निर्वाह गर्ने सहमति भएको छ।
सदस्यतर्फ माधवकुमार धमला (२७८), केदार न्यौपाने (३०२), थुप्देन शेर्पा (३२६), गोकुल थापा (२८८), मुलाल गुरुङ (३५१), देण्डी शेर्पा (३११), विक्रम कार्की (३०६), रिञ्जे शेर्पा (३०१), देवेन्द्र डंगोल (२९५), दिकी शेर्पा (२८८) र निशा भोटे (३०७) निर्वाचित भएका छन्।
परिणाम सार्वजनिक भएपछि विभिन्न निकाय, शुभेच्छुक र आम सदस्यहरूले नवनिर्वाचित अध्यक्ष फुर गेल्जे शेर्पा, महासचिव राजेन्द्र बहादुर लामा लगायत सम्पूर्ण पदाधिकारीलाई हार्दिक बधाई दिएका छन्। यस विजयलाई संस्थागत नेतृत्वको मात्र होइन, राजनीतिक सन्देशको रूपमा पनि हेरिएको छ। कांग्रेस, एमाले र समाजवादीहरूको संयुक्त गठबन्धनलाई पराजित गर्दै माओवादी निकट समूहको विजयले आगामी दिनमा माओवादीको पकड अझ मजबुत हुँदै गएको संकेत गरेको विश्लेषकहरूको मत छ।






