नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल पर्वतारोहण सङ्घ (एनएमए)को नवनिर्वाचित कार्यसमितिलाई बधाई दिएका छन्। सोमबार खुमलटारस्थित आफ्नै निवासमा आयोजित कार्यक्रममा उनले नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन्।
हालै सम्पन्न निर्वाचनमा अध्यक्ष फुर्वा गेल्जे शेर्पा नेतृत्वको प्यानलले सत्तारूढ नेपाली काँग्रेस, नेकपा (एमाले) र समाजवादी पार्टीबीचको गठबन्धनलाई पछि पार्दै अधिकांश पदमा विजय हासिल गरेको थियो। माओवादी केन्द्रसमेतको गठबन्धनबाट प्रतिस्पर्धा गरेको शेर्पा प्यानलको जीतलाई प्रचण्डले पर्वतीय पर्यटन व्यवसाय र समग्रमा पर्यटन क्षेत्रकै लागि सकारात्मक संकेतका रूपमा लिएका छन्।
उनले संघलाई अझ सशक्त र प्रभावकारी संस्थाका रूपमा अगाडि बढाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै पर्वतीय पर्यटनको विस्तार, संरक्षण र प्रवर्द्धनमा नयाँ कार्यसमितिको भूमिका निर्णायक हुने विश्वास समेत व्यक्त गरे।
‘नेपालमा पर्वतीय पर्यटन व्यवसायलाई थप व्यवस्थित र दिगो बनाउन संघको योगदान अत्यन्तै महत्त्वपूर्ण हुनेछ। निर्वाचित अध्यक्षसहित सम्पूर्ण पदाधिकारीलाई म हाम्रो पार्टी र मेरो व्यक्तिगत तर्फबाट हार्दिक बधाई दिन चाहन्छु,’ प्रचण्डले भने।
एनएमएको निर्वाचनमा अध्यक्षसहित उपाध्यक्ष र सदस्य तहसम्म भएको प्रतिस्पर्धामा शेर्पा नेतृत्वको प्यानलले उपाध्यक्ष र एक सदस्य बाहेकका सबै पदमा जित हात पारेको छ।






