काठमाडौं, १९ भदौ । सरकारले सामाजिक सञ्जाल प्लेटफर्ममाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि प्रेस सेन्टर नेपालले गम्भीर आपत्ति जनाएको छ ।
प्रेस सेन्टर नेपालका महासचिव मनोज घर्तीमगरद्वारा जारी विज्ञप्तिमा सामाजिक सञ्जाल ‘नियमन’को नाममा गरिएको ‘प्रतिबन्ध’ले संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रतालाई सङ्कुचन गरेको उल्लेख छ । साथै, आम नागरिकलाई सूचनाको हकबाट बञ्चित गरिएको भन्दै आपत्ति जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ, “सामाजिक सञ्जाललाई दर्तामा ल्याउन आवश्यक कूटनीतिमा असफल भएको वर्तमान सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रताको प्रमुख माध्यममाथि प्रतिबन्ध लगाएर आफ्नो निरङ्कुशताको नकाव उजागर गरेको छ ।”
प्रेस सेन्टरले प्रेस स्वतन्त्रतालाई कमजोर पार्ने र आम नागरिकलाई सूचनाको हकबाट वञ्चित गर्ने निर्णयको निन्दा गर्दै सरकारले तत्काल सामाजिक सञ्जाल बन्द गर्ने कदम फिर्ता लिनुपर्ने माग गरेको छ । साथै, दर्ताका लागि आवश्यक थप पहल गर्नुपर्ने पनि उल्लेख छ ।






