
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक सञ्जालमाथि रोक लगाउने सरकारको निर्णयलाई आपत्तिजनक र गलत करार गरेका छन्। उनले यसलाई अभिव्यक्ति स्वतन्त्रतामाथि गरिएको ठाडो हस्तक्षेप भन्दै तत्काल सच्याउन सरकारलाई आग्रह गरेका छन्।
शुक्रबार एक कार्यक्रममा बोल्दै प्रचण्डले सरकारले निरन्तर गरिरहेको भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको रोकविरुद्ध युवाहरूले गर्ने आन्दोलनलाई स्वाभाविक भनेका छन्। उनका अनुसार, युवापुस्ताले देशको भविष्य सुरक्षित राख्न सडकमा आवाज उठाउनु ऐतिहासिक जिम्मेवारी हो।
प्रचण्डले सरकारलाई आन्दोलनमाथि बल प्रयोग नगर्न चेतावनी पनि दिएका छन्। “जनताको आवाज दमन गरेर भ्रष्टाचार ढाकछोप गर्न खोज्नेहरू सफल हुँदैनन्,” उनले भने, “भ्रष्टाचारविरुद्धको हाम्रो आन्दोलन अझ सशक्त रूपमा निरन्तर जारी रहनेछ।”
उनले नेपाललाई न्याय, पारदर्शिता र लोकतान्त्रिक मूल्यमा अघि बढाउन सबै युवापुस्तालाई सक्रिय सहभागिताका लागि आह्वान गरेका छन्।






