काठमाडौँ:सरकारले देशमा दिइँदै आएका सार्वजनिक बिदाहरूको व्यापक पुनरावलोकन गर्ने भएको छ।
सोमबार मुख्य सचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले बिदाको समीक्षा गर्न उच्चस्तरीय कार्यदल गठन गर्ने कडा निर्णय गरेको हो।हप्तामा दुई दिन—शनिबार र आइतबार—बिदा दिने व्यवस्था लागू भएपछि अरू सार्वजनिक बिदा धेरै भएको चौतर्फी आलोचना भइरहेका बेला सरकार यो कदम चाल्न बाध्य भएको हो। गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित उक्त कार्यदलमा
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, र अर्थ मन्त्रालयका प्रतिनिधिहरू रहनेछन्। कार्यदललाई आगामी १५ दिनभित्र बिदा सम्बन्धी नयाँ खाका तयार पारी गृह मन्त्रालयमा प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ। इन्धन संकट र पेट्रोलियम पदार्थको आपूर्तिमा आएको सास्ती कम गर्न भन्दै सरकारले भर्खरै मात्र सातामा दुई दिन बिदा दिने निर्णय गरेको थियो।






