काठमाडौँ :नेपाली कांग्रेसले आगामी मंसिरमा १५औं केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरे पनि पार्टीभित्रको आन्तरिक विवाद झनै चुलिएको छ। संस्थापन पक्ष र इतर समूहबीचको दूरी घट्नुको साटो झन् फराकिलो बन्दै गएको हो।
संस्थापन पक्ष महाधिवेशनको तयारीमा जुटिरहँदा इतर समूहले भने साउन महिनाभित्रै काठमाडौंमा ‘राष्ट्रिय भेला’ गर्ने घोषणा गरेको छ। साउन ६ गते हुने बीपी स्मृति दिवसका अवसरमा सो भेलाको औपचारिक मिति र स्थान सार्वजनिक गर्ने इतर पक्षको तयारी छ। संस्थापन पक्षले पार्टी एकताका लागि कुनै सार्थक पहल नगरेको र सहकर्मी दलहरूलाई समेत चिढ्याउने काम गरेको इतर समूहको आरोप छ।
यसैबीच, कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले आगामी महाधिवेशनलाई सर्वस्वीकार्य र सहभागीमूलक बनाउन नेतृत्व तहमा निरन्तर संवाद भइरहेको दाबी गर्नुभएको छ। सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपसभापति शर्माले संवादबाटै सहमति खोजिने बताउनुभयो।
प्रदेश सरकार गठनका विषयमा बोल्दै उहाँले कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्न नहुने र आवश्यक परे कांग्रेस प्रतिपक्षमा बस्न तयार रहेको प्रष्ट पार्नुभयो।
यसैगरी, कांग्रेसले महामानव बीपी कोइरालाको ४४औं स्मृति दिवसका अवसरमा साउन ६ र ७ गते विविध कार्यक्रम गर्ने भएको छ। साउन ६ गते जलवायु परिवर्तनबारे जनचेतना जगाउन ललितपुरको यूएन पार्कबाट ५ किलोमिटरको ‘ग्रीन रन’ दौड आयोजना गरिनेछ, जसमा शीर्ष नेताहरू सहभागी हुनेछन्।
त्यस्तै, साउन ७ गते राष्ट्रिय सभागृहमा विचार गोष्ठी आयोजना गरिनेछ, जहाँबाट पार्टीले नयाँ राजनीतिक अभियान सार्वजनिक गर्ने जनाएको छ।






