काठमाडौँःजनकपुरधामस्थित जानकी मन्दिरमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई स्वागत गर्न पुगेका नेता तथा कार्यकर्तालाई हिन्दु सम्राट सेनाका कार्यकर्ताले लखेटेका छन् । साम्पाङ मंगलबार जानकी मन्दिर दर्शन तथा पार्टीको कार्यक्रममा सहभागी हुन जनकपुर आउने तयारीमा थिए ।
सोही क्रममा उनलाई स्वागत गर्न मन्दिर परिसर पुगेका श्रम संस्कृति पार्टीका नेता–कार्यकर्तामाथि विरोध गर्दै हिन्दु सम्राट सेनाका कार्यकर्ताले नाराबाजीसहित उनीहरूलाई हटाएका हुन् । हिन्दु सम्राट सेनाले साम्पाङले विगतमा गाईसम्बन्धी दिएको अभिव्यक्तिलाई लिएर विरोध जनाएको छ । संगठनले साम्पाङलाई जनकपुरमा निषेध गर्ने चेतावनीसमेत दिएको थियो । घटनापछि साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै ‘गाई कसले खाएको रहेछ ? गाई खानेलाई मन्दिरमा पस्न नदिने भनेको देखें, यो कस्तो राजनीति गर्न खोजिएको हो ?’ भन्दै प्रश्न गरेका छन् । उनले जनकपुरमा विवाद सिर्जना भएको र गृहमन्त्रीको फोन अफ भएको दाबी गर्दै अर्को स्टाटसमार्फत जानकारी दिएका छन्।
साथै उनले आफ्ना पार्टी कार्यकर्तालाई संयमित रहन आग्रह गरेका छन् । श्रम संस्कृति पार्टीले मंगलबार जनकपुरधाममा साधारण सभा तथा पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको छ। कार्यक्रमका लागि साम्पाङ जनकपुर पुगेका हुन् ।






