काठमाडौँःअसार २९ गते कान्तिपुर मिडिया गेट अगाडि शंकास्पद रूपमा राखिएको गाडी बा प्रदेश–०१ ०३४ च ८४८० नम्बरको गाडी गृहमन्त्री सुधन गुरुङले प्रयोग गरेको तथ्य खुलेको छ । उक्त गाडी असार ७ गते चितवनमा भएको रास्वपाको महाधिवेशनमा गृहमन्त्री गुरुङको आवतजावतका क्रममा प्रयोग भएको भिडियो फुटेजबाट पुष्टि भएको दाबी गरिएको छ ।
अनलाइनखबरले सार्वजनिक गरेको विवरणअनुसार, चितवनमा गृहमन्त्रीको एस्कर्टिङमा देखिएको सोही गाडी पछि कान्तिपुर, अनलाइनखबर र हिमालय टेलिभिजनको कार्यालय अगाडि शंकास्पद अवस्थामा भेटिएको थियो । मिडिया कार्यालय अगाडि राखिएका ती गाडी प्रहरीले क्रेनको सहायताले हटाएको थियो । प्रत्यक्षदर्शीका अनुसार मास्क र कालो चस्मा लगाएका एक व्यक्तिले बिहान गाडी पार्क गरेर छाडेका थिए । गृहमन्त्रीका प्रमुख स्वकीय सचिव जेम्स कार्कीले उक्त गाडी गृहमन्त्रीले पटक–पटक प्रयोग गरेको स्वीकार गरेका छन् । उनका अनुसार महाधिवेशनका बेला आफ्नै गाडी उपलब्ध नभएकाले पार्टी नेता रवि जयसवालको गाडी प्रयोग गरिएको थियो ।
यसैबीच, मिडिया कार्यालय अगाडि गाडी राखिएको घटनाबारे रास्वपाका नेताहरूले पनि आपत्ति जनाएका छन् । रास्वपाले घटनामा संलग्न जोसुकै भए पनि कारबाही हुने बताएको छ । घटनामा सरकारी निकायसँग जोडिएका व्यक्तिको संलग्नता हुनसक्ने आशंका समेत व्यक्त गरिएको छ ।






