काठमाडौँःअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीन, भारत, युरोपेली सङ्घ (इयु) लगायत ६० व्यापारिक साझेदारलाई लक्षित गर्दै नयाँ आयात शुल्क लागू गरेको छ । नयाँ व्यवस्थाअनुसार अधिकांश देशका वस्तुमा १० देखि १२.५ प्रतिशतसम्म शुल्क लाग्ने छ ।
अमेरिकी प्रशासनका अनुसार यो नीति लामो अनुसन्धानपछि लागू गरिएको हो । यसअघि लागू गरिएको अस्थायी १० प्रतिशत विश्वव्यापी आयात शुल्कको अवधि सकिएसँगै नयाँ शुल्क व्यवस्था कार्यान्वयनमा आएको हो । जबरजस्ती श्रमसम्बन्धी प्रतिबन्ध लागू गरेका वा प्रतिबद्धता जनाएका देशमा १० प्रतिशत शुल्क लाग्ने छ । यस सूचीमा क्यानाडा, भारत, युरोपेली सङ्घ र बेलायत रहेका छन् भने चीन, जापान, दक्षिण कोरिया लगायतका देशमा १२.५ प्रतिशतसम्म शुल्क तोकिएको छ ।
अमेरिकाका केही व्यापार साझेदारले नयाँ कदमको आलोचना गरेका छन् । जापानले यसलाई ‘दुर्भाग्यपूर्ण’ भनेको छ भने अस्ट्रेलियाले ‘अन्यायपूर्ण’ कदमको संज्ञा दिएको छ । विश्लेषकहरूका अनुसार नयाँ शुल्क नीतिले ट्रम्प प्रशासनको संरक्षणवादी व्यापार रणनीति थप बलियो बनाएको छ । यसले व्यापार वार्तामा अमेरिकाको दबाब बढाउने र सरकारी राजस्व वृद्धि गर्ने उद्देश्य राखेको बताइएको छ ।
यसअघि अमेरिकाले ब्राजिलका केही वस्तुमा २५ प्रतिशत तथा क्यानाडाका उत्पादनमा ५० प्रतिशतसम्म शुल्क घोषणा गरिसकेको छ । आगामी दिनमा थप अनुसन्धानका आधारमा विभिन्न देशमाथि थप शुल्क लगाउन सक्ने संकेत पनि अमेरिकी प्रशासनले दिएको छ ।






