काठमाडौँः सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेको संख्या तीन पुगेको छ । घाइते भएका २१ वर्षीय रवीन्द्रकुमार मेहताको मंगलबार बिहान काठमाडौंको टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
यसअघि गोली लागेर देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहता र देवानगञ्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको मृत्यु भएको थियो । १० साउनमा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर १० जना गम्भीर घाइते भएका थिए। रवीन्द्रकुमार मेहताको बायाँ तिघ्रामा गोली लागेको थियो । उपचारका क्रममा उनको खुट्टा काट्नुपरे पनि ज्यान बचाउन सकिएन । घटनामा घाइते भएका अन्य व्यक्तिहरूको काठमाडौं र विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यस घटनापछि स्थानीयस्तरमा विरोध चर्किएको थियो भने सरकारसँग सातबुँदे सहमतिपछि मृतकहरूको अन्त्येष्टि गरिएको थियो ।






