गण्डकी प्रदेश सरकारले नेपालमै पहिलो पटक गाँजा खेती गर्न पाइने कानुन बनाएको छ। गोरखाको खोप्लाङका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री रहेको प्रदेश सरकारले नेपालमै पहिलो पटक गाँजा खेतीलाई कानुनी बाटो खोल्ने निर्णय गरेको हो।
औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्ने उद्देश्यसहित ल्याइएको ‘औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रदेश सभाबाट पारित भई प्रदेश प्रमुखले प्रमाणीकरणसमेत गरिसकेका छन्। प्रदेश सभाले असार २५ गते पहिलो पटक यो विधेयक पारित गरेर असार ३० गते प्रदेश प्रमुखकहाँ प्रमाणीकरणका लागि पठाएको थियो।
तर प्रदेश प्रमुखले साउन ८ गते विधेयक पुनर्विचारका लागि पुनः प्रदेश सभामै फर्काएका थिए। त्यसपछि साउन १५ गते प्रदेश सभाले उक्त विधेयक हुबहु पुनः पारित गरी प्रमाणीकरणका लागि प्रदेश प्रमुखकहाँ पठाएको थियो। अन्ततः साउन १८ गते प्रदेश प्रमुखले विधेयक प्रमाणीकरण गरेसँगै गण्डकीमा गाँजा खेतीका लागि कानुनी बाटो खुलेको हो।
गाँजा खेती गर्न पाइने भएपछि किसानहरूमा पनि खुसी छाएको छ। बाँदरले कृषि बाली खाएर हैरान पारेका बेला किसानका लागि वैकल्पिक खेती गर्ने बाटो खुलेको भन्दै उनीहरूले यसलाई आशाको नयाँ अवसरका रूपमा हेरेका छन्। गण्डकीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री छन्। उनी गोरखाबाट प्रदेश सभा सांसद निर्वाचित भएका हुन्।






