सिंहदरबार परिसरमै अब सर्वसाधारण तथा कर्मचारीले सुलभ मूल्यमा खाद्य तथा दैनिक उपभोग्य सामग्री खरिद गर्न पाउने भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सिंहदरबारस्थित उद्योग मन्त्रालय र गृह मन्त्रालयको बीचमा सुलभ मूल्यको खाद्य बिक्री कक्ष सञ्चालनमा ल्याएको हो ।

कम्पनीको वार्षिकोत्सवको अवसर पारेर सञ्चालनमा ल्याइएको बिक्री कक्षको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले उद्घाटन गरेकी हुन् ।

बिक्री कक्षमा करिब १२४ प्रकारका खाद्य तथा दैनिक उपभोग्य सामग्री बिक्रीका लागि राखिएको कम्पनीले जनाएको छ । उपभोक्ताले दैनिक आवश्यक पर्ने खाद्यवस्तुहरू अन्यत्रको तुलनामा सहज र सुलभ मूल्यमा खरिद गर्न सक्ने व्यवस्था गरिएको छ ।

उद्घाटन कार्यक्रममा मन्त्री यादवले उपभोक्तालाई सहज, गुणस्तरीय र सुलभ मूल्यमा खाद्य सामग्री उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिइन् । खाद्य सामग्रीको मूल्य, गुणस्तर र उपलब्धतामा उपभोक्ताको हितलाई केन्द्रमा राख्नुपर्ने उनको भनाइ थियो ।

सिंहदरबारको केन्द्रमै बिक्री कक्ष सञ्चालनमा आएपछि मन्त्रालयमा कार्यरत कर्मचारी, विभिन्न कामका लागि सिंहदरबार पुग्ने सेवाग्राही तथा आसपासका उपभोक्तालाई दैनिक उपभोग्य सामग्री खरिद गर्न सहज हुने अपेक्षा गरिएको छ ।

खाद्य सामग्रीको मूल्यवृद्धि र बजारमा देखिने अस्वाभाविक मूल्य अन्तरका बीच सिंहदरबारमै सुलभ मूल्यको बिक्री कक्ष सञ्चालनमा आउनुलाई उपभोक्ताका लागि महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय