संयुक्त राज्य अमेरिकामा आसन्न निर्वाचनमा मतदाताहरूले डेमोक्र्याटिक पार्टीकी उम्मेदवार तथा उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टी उम्मेदवार तथा भूतपूर्व राष्ट्रपति डोनल्ड ट्रम्पमध्ये एक जनालाई रोज्न पाउने छन्।

ह्यारिस र ट्रम्पले कस्ता विषयवस्तुमा कुन खालको नीति लिएका छन् भनेर चर्चा हामी यहाँ गर्दै छौँ।

अर्थतन्त्र

ह्यारिसले पहिलो प्राथमिकता नै कामकाजी परिवारहरूको खाना र आवासको खर्च कम गर्ने प्रयास हुने बताएकी छन्।

उनले किराना सामानको मूल्यवृद्धि नियन्त्रण गर्ने र पहिलो पटक घर किन्नेहरूलाई सहुलियत दिने तथा माग पूर्ति गर्न आवास क्षेत्रमा विस्तार गर्ने वाचा गरेकी छन्।

विज्ञापन

ट्रम्पले मूल्यवृद्धि अन्त्य गर्ने र अमेरिकालाई पुन: सबैका लागि सहज तथा कम खर्चिलो बनाउने वाचा गरेका छन्।

उनले ब्यादर घटाउने बताएका छन् तर त्यो राष्ट्रपतिको नियन्त्रणमा हुँदैन। कागजपत्र नभएका आप्रवासीहरूलाई फिर्ता पठाएपछि आवास क्षेत्रमा परेको दबाव कम गर्न सकिने ट्रम्पको दाबी छ।

गर्भपतन
ह्यारिसले गर्भपतनको विषय आफ्नो अभियानको केन्द्रबिन्दुमा राखेकी छन्। उनले गर्भपतनलाई कानुनी मान्यता दिने भन्दै राष्ट्रव्यापी रूपमा प्रजनन अधिकारलाई सुरक्षित गर्ने कानुनमा जोड दिएकी छन्।

पछिल्ला साताहरूमा ट्रम्पले गर्भपतनसम्बन्धी मामिलामा कसरी स्पष्ट सन्देश दिने भन्ने कुरामा सङ्घर्ष गरेको देखिएको छ।

उनले राष्ट्रपति हुँदा सर्वोच्च अदालतमा नियुक्त गरेका तीन न्यायाधीशहरू गर्भपतन गर्न पाउने संवैधानिक अधिकारलाई उल्ट्याउने कार्यमा निर्णायक रहेका थिए। सन् १९७३ मा प्राप्त उक्त अधिकारलाई ‘रो भर्सस वेड’ भनिन्छ।

आप्रवासन
ह्यारिसलाई उपराष्ट्रपतिको हैसियतमा दक्षिणी सीमा क्षेत्रमा उत्पन्न आप्रवासनसम्बन्धी सङ्कटको मुख्य कारणलाई सम्बोधन गर्ने जिम्मा दिइएको थियो। उत्तरतर्फ हुने आप्रवासी प्रवाहलाई रोक्नका लागि क्षेत्रीय लगानी बढाउन अर्बौँ डलर निजी क्षेत्रको रकम उठाएर सहयोग गरिएको थियो।

सन् २०२३ मा सबैभन्दा धेरै मानिस मेक्सिकोको सीमा हुँदै अमेरिका भित्रिए। तर त्यसपछि भने त्यसरी आउनेहरूको सङ्ख्यामा कमी आएको छ। अहिलेको चुनावी अभियानमा ह्यारिसले आप्रवासनको विषयमा कडा अडान लिएकी छन्। क्यालिफोर्निया राज्यमा सरकारी अभियोजनकर्ता बनेर काम गर्दा आफूले मानवतस्करहरूविरुद्ध काम गरेको अनुभवमा जोड दिएकी छन्।

ट्रम्पले सीमा बन्द गरेर पर्खाल लगाउने योजनालाई पूरा गर्ने वाचा गरेका छन्। उनले रिपब्लिकनहरूलाई आफ्नो कडा अडान छाडेर ‘अन्तरपार्टी’ विधेयक अघि बढाउन सहयोग गर्न आग्रह गरेका छन्। त्यो विधेयकलाई ह्यारिसले पनि समर्थन गरेकी छन्।

उनले इतिहासमै सर्वाधिक सङ्ख्यामा आएका वैध कागजपत्र नभएका आप्रवासीलाई देशनिकाला गर्ने घोषणा पनि गरेका छन्। बीबीसीसँग कुराकानी गरेका विज्ञहरूले त्यस्तो अभियानले कानुनी चुनौती सामना गर्नुपर्ने बताएका छन्।

कर
ह्यारिस ठूला व्यापारिक घरानाहरू र वर्षको चार लाख डलरभन्दा बढी आम्दानी गर्ने अमेरिकीहरूले तिर्नुपर्ने कर बढाउन चाहन्छिन्।

त्यसका साथै उनी करको बोझलाई कम गर्ने कैयौँ योजनाहरू पनि लागु गर्न चाहन्छिन्।

ट्रम्प खर्बौँ डलर राजस्व घट्ने गरी कर कटौती गर्ने पक्षमा उभिएका छन्। त्यसमा उनले सन् २०१७ मा गरेको कर कटौतीको विस्तारित रूप पनि छ। त्यसले मुख्यत: धनीहरूलाई नै सहयोग पुगेको थियो। त्यसरी कटौती गर्दा राजस्व घटे पनि उच्च आर्थिक वृद्धि र आयातमा लगाइने करका माध्यमबाट पूर्ति गर्ने उनको तर्क छ।

विश्लेषकहरू दुवै किसिमका नीतिका कारणबाट व्यापक मन्दीको अवस्था उत्पन्न हुन सक्ने ठान्छन्। दुईमध्ये ट्रम्पको नीतिले त्यसलाई अझ बढाउन सक्ने उनीहरूको आकलन छ।

विदेशनीति
ह्यारिसले युद्ध “जति लामो समयसम्म” गए पनि युक्रेनलाई समर्थन गर्ने वाचा गरेकी छन्। उनले आफू निर्वाचित भएमा “२१औँ शताब्दीको प्रतिस्पर्धामा” चीनले होइन, अमेरिकाले जित्ने सुनिश्चित गर्ने बताएकी छन्।

लामो समयदेखि इजरेल र प्यालेस्टाइन दुई राष्ट्रको समाधानमा जोड दिँदै आएकी उनी गाजामा युद्धको अन्त्य चाहन्छिन्।

ट्रम्पको विदेशनीति एकाकी छ र उनी अमेरिका संसारका विभिन्न स्थानमा भएका द्वन्द्वबाट आफैँ अलग हुनुपर्छ भन्ने चाहन्छन्।

ट्रम्पले रुससँग सम्झौताका माध्यमबाट २४ घण्टाभित्र युक्रेन युद्ध अन्त्य गर्ने बताएका छन्। त्यसलाई डेमोक्र्याटहरूले पुटिनलाई प्रोत्साहन मिल्ने आरोप लगाएका छन्।

ट्रम्प इजरेलको पक्षमा उभिएका थिए। तर अहिले उनले गाजाको युद्ध कसरी अन्त्य गर्न सकिन्छ भनेर खासै चर्चा गरेका छैनन्।

व्यापार
ह्यारिसले आयातमा उच्च कर लगाउने ट्रम्पको योजनाको आलोचना गरेकी छन् र त्यसले कामकाजीहरूलाई वार्षिक रूपमा ४,००० डलर भार थप्ने दाबी गरेकी छन्। उनले आयातमा लाग्ने करबारे थप लक्षित योजनाहरू अघि सार्ने अपेक्षा गरेकी छन्।

ट्रम्पले आफ्नो चुनावी अभियानमा करनीतिलाई केन्द्रमा राखेका छन्। उनले विदेशबाट आयात हुने वस्तुमा १० देखि २० प्रतिशतसम्म कर लगाउने घोषणा गरेका छन् भने चीनबाट आयात हुने वस्तुमा थप कर लगाउने योजना अघि सारेका छन्।

जलवायु परिवर्तन
ह्यारिसले उपराष्ट्रपतिका रूपमा ‘इन्फ्लेशन रिडक्शन एक्ट’ पारित गराउन सहयोग गरेकी थिइन्। उक्त कानुनले नवीकरणीय ऊर्जामा सयौँ अर्ब डलर लगानी गर्ने तथा विद्युतीय कारमा सहुलियत दिने एवं कर फिर्ता दिने कुरा समेट्छ।

तर उनले ग्यास तथा तेललाई पुन: प्राप्त गर्ने पर्यावरणवादीहरूले व्यापक आलोचना गरेको एउटा तरिकाबारे आफ्नो पुरानो अडान छाडेकी छन्।

ट्रम्पले ह्वाइटहाउसमा रहँदा पर्यावरण संरक्षणसम्बन्धी सयौँ प्रावधान उल्ट्याएका थिए। त्यसमा ऊर्जा केन्द्रहरू र सवारीसाधनबाट हुने कार्बन डाइअक्साइडको उत्सर्जनमा कटौती गर्नेसहितका कुराहरू छन्।

आफ्नो चुनावी अभियानमा उनले ‘आर्क्टिक क ड्रिलिङ’लाई विस्तार गर्ने वाचा गरेका छन् भने उनी विद्युतीय कारको विपक्षमा उभिएका छन्।

स्वास्थ्योपचार
ह्यारिस चिकित्सकीय सिफारिस भएका औषधिहरूको खर्च घटाउने तथा इन्सुलिनको मूल्य ३५ डलरमा सीमित गर्ने ह्वाइटहाउस प्रशासनमा थिइन्।

ट्रम्पले ‘अफोर्डेबल केअर एक्ट’लाई खारेज गर्ने आफ्नो प्रयास नदोहोर्‍याउने बताएका छन्। उक्त कार्यक्रमले लाखौँ थप मानिसहरूलाई बीमाको सुविधा दिएको थियो।

उनले करदाताको योगदानमा आधारित प्रजनन उपचारको योजना अघि सारेका छन्। त्यसलाई सदनमा रिपब्लिकनहरूले नै अस्वीकार गर्ने सम्भावना छ।

अपराध
ह्यारिसले सरकारी वकिल भएर काम गर्दा आफ्नो छवि स्वच्छ रहेको देखाउने प्रयास गर्दै आएकी छन्। उनले ट्रम्प भने अपराधमा दोषी ठहर व्यक्ति भएको बताउने गरेकी छन्।

ट्रम्पले लागुपदार्थ तस्करी गर्ने गिरोहहरूलाई छिन्नभिन्न पार्ने, विभिन्न आपधाराधिक गिरोहबीच हुने हिंसा अन्त्य गर्ने र डेमोक्र्याटहरूले शासन गरिरहेका सहरको पुनर्निर्माण गर्ने वाचा गरेका छन्। उनका दाबीमा ती सहरमा व्यापक अपराध हुने गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय