काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले समाजमा फैलाएको भ्रम चिर्न भन्दै शुक्रबार काठमाडौँको दरबारमार्गस्थित नारायणहिटी संग्राहलय अगाडी जागरण सभाका नाममा आफ्नो शक्ति प्रदर्शन गरेको छ । काठमाडौँ उपत्यकाका तीन जिल्लाका एमाले नेता कार्यकर्ताहरू भद्रकालीमा जम्मा भएर र्यालीसहित वीर अस्पताल, जय नेपाल हुँदै दरबारमार्ग पुगेर सभामा परिणत भएका थिए ।
सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू र आफ्नो नेतृत्वको सरकारमाथि लागेको आरोपहरूको खण्डन मात्रै गरेनन् समाजमा अराजकता मच्चाउने, सामाजिक सद्भाव र विद्वेष फैलाउने तथा जनतालाई भ्रममा पार्ने काम भइरहे पनि जनता भ्रमित नहुने तर्क गरे ।
कम्बोडियाको टेलिकममा लगानीबारे
प्रधानमन्त्री ओलीले कम्बोडियाको टेलिकममा आफूले ३२ अर्बभन्दा बढी लगानी गरेको भनेर भइरहेका प्रचारलाई फाल्तु कुराको संज्ञा दिए । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ओलीले ३२ अर्ब बढी लगानी गरेको भनेर लगाएको आरोपलाई यस्ता फाल्तु कुराका पछि लाग्न नहुने बताए ।
‘२१ हजार करोड डलर, स्वीस बैंकमा यति हजार ? तपाईंहरु त हेर्न जानुहुन्न । यस्ता फाल्तु कुराहरू गरेर केही हुनेछैन’, प्रधानमन्त्री ओलीले जवाफ दिँदै भने, ‘देशको अर्थतन्त्र र मौद्रिक नीतिलाई खलबल्याउन र ध्वस्त बनाउनका लागि यस्ता कुराहरू भएका हुन् ।’
त्यस्तै प्रसाईंले बैङ्कको ऋण तिर्नुपर्दैन भनेर चलाएको हल्लालाई अराजकताको संज्ञा दिए । ‘हामी सुन्छौ कहिले बैङ्कको ऋण तिर्नुपदैन भनेर कराएर हिँड्छ । बैङ्कको ऋण लिएपछि तिर्नुपर्दैन ?’, प्रसाईं र उनको अभियानप्रति लक्षित गर्दै ओलीले भने, ‘तिर्नुपर्दैन भनेर कराएर हिँड्छ किनभने देशको अर्थतन्त्र र मौद्रिक स्थितिलाई छ्यालब्याल, अस्तव्यस्त र ध्वस्त बनाउन ।’
जनता कसैको भ्रममा नपर्ने उल्लेख गर्दै ओलीले कसले कति कमाएको छ भन्ने जनतालाई थाहा भएको तर्क पेस गरे । ‘कम्बोडिया भन्ने देश त्यहीँ छ चार घण्टाभित्र फ्लाइटमा पुगिन्छ यहाँबाट बैंकक, त्यहाँबाट ४५–५५ मिनेटमा पुगिन्छ, त्यहीँ छ’, ओलीले आरोपको खण्डन गर्दै भने, ‘त्यहाँको टेलिकममा क–कसको लगानी छ भन्ने नयाँ कुरा, थाहा पाउन नसकिने अनौठो कुरा हो र ?’
उनले कसले कति कमाएको छ, कसले कमाएको छैन र कसले आफन्तको नाममा थुपारेको छ भन्ने दुनियाँले देखेको बताए ।
रास्वपा र कुलमानप्रति कटाक्ष
प्रधानमन्त्री ओलीले सभालाई सम्बोधन गर्दै कुलमान र रास्वपालक्षित टिप्पणी पनि गरे । एमाले र आफ्नो सरकारलाई भ्रष्टाचार र ठगी सैह्य नहुने चेतावनी दिँदै उनले भने, ‘सरकारी ढिलासुस्ती, अकर्मण्यता र उल्झनलाई समाप्त पार्नुपर्छ, समाजमा अराजकता र भ्रम फैलाउनेहरूलाई यो सरकारले छोड्दैन ।’
‘केही उद्योग चलिरहेका छन् भने ती उद्योगको पनि लाइन काट्ने ? अहिले सरकारले भनिरहेको छ–विद्युत् महसुल आयोगले जे भनेको छ टिओडीअनुसार बक्यौता उठाऊ’, ओलीले विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको निर्णयको प्रतिवाद गरे ।
टिओडी अनुसार बक्यौता नउठाउने अनि विद्युत् लाइन काटेर उद्योग बन्द गर्ने कुरा सरकारलाई स्वीकार्य नहुने भन्दै ओलीले भने, ‘उद्योगको लाइन काटेर मजदुरहरू बेरोजगार बनाउने षड्यन्त्र भइरहेका छन् । समुदायमा विद्वेष खलबल्याउने काम भइरहेको छ ।’
कुलमानपछि ओलीले रास्वपाको गतिविधिप्रति पनि असन्तुष्टि जनाए । भने, ‘पोल्टिक्स नगर्ने, नीति अघि सार्न नसक्ने तर गाली गर्ने, मुख छाड्ने अनि अपशब्द बोल्ने कुरा सरकारलाई सैह्य हुँदैन ।’
‘आफैँ सहकारी ठगी गर्ने अरूलाई मुख छाड्ने ? गाली गर्ने ? कुनै पनि प्रकारको भ्रष्टाचार, ठगी र मानव तस्करी सैह्य हुनेछैन । अपराध गर्नेलाई सरकारले अनुहार हेर्दैन कारबाही गर्छ’, ओलीको चेतावनी छ ।
सरकार कसैले हल्लाएर हल्लिँदैन
प्रधानमन्त्री ओलीले अहिलेको सरकारलाई कसैले हल्लाउन नसक्ने दाबी समेत गरे । ‘अहिलेको सरकारलाई कसैले हल्लाउन सक्ने छैन, किनभने अहिले हामी कुनै कमिसनखोरी गर्न, भ्रष्टाचार गर्न, आफ्ना मानिस भर्ती गर्नका लागि सरकारमा गएका होइनौ’, ओलीले प्रश्न गर्दै भने, ‘म विभिन्न पार्टीका नेता साथीहरूलाई भन्न चाहन्छु । तपाईंहरु नेकपा एमालेतिर औँलो ठड्याएर बोलिरहनुभएका छ ? के तपाईंहरु साँच्चै बहस गर्न सक्नुहुन्छ नेकपा एमालेसँग ? तथ्यसहित बहस गर्न सक्नुहुन्छ ?’
यसअघि सरकार दसैँ, तिहार, मङ्सिर टिक्दैन भनेर हल्ला फैलाएको र अहिले फागुन नकट्ने भनेर भइरहेका प्रचारमा कुनै सत्यता नभएको भन्दै वर्तमान गठबन्धन २०८४ को निर्वाचनसम्म रहने ठोकुवा गरे । उनले अब आफू १८ महिना र त्यसपछि शेरबहादुर देउवा १८ महिना प्रधानमन्त्री भएर सरकार चलाउने दोहोर्याए ।
बीआरआईको ऋण नलिने सङ्केत
प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमण आगामी मङ्सिर १७ गतेबाट हुने घोषणा गरे । त्यसक्रममा उनले आफू चीन त्यसै घुम्न जान नलागेको भन्दै भ्रमण सफल हुने बताए । ओलीको चीन भ्रमणको चर्चासँगै चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) बारे भइरहेका चर्चालाई चिर्दै ओलीले उक्त परियोजना अनुदान अन्तर्गत कार्यान्वयन गर्न सकिने तर ऋण लिने नसकिने प्रस्ट पारे ।
‘देशको हित र भलाइका लागि कुनै पनि देशको भ्रमण गरिन्छ । त्यसरी नै हामीले हाम्रा भ्रमणहरूलाई सफल बनाउने ढङ्गले प्रस्तुत गरेको छ’, उनले भने, ‘हामी सकेसम्म कतैको पनि ऋण लिँदैनौ । अहिले ऋण लिने मनस्थित र अवस्था पनि छैन । तर हामीले उत्पादन बढाउनुपर्छ । आफैँले उन्नति गर्नुपर्छ ।’ प्रधानमन्त्री ओलीले भारतले नपत्याएर चीन जान लागेको भनेर गरिएका टिप्पणीलाई ‘वाहियात र कायर’को संज्ञा दिए ।
कार्यक्रममा एमाले महासचिव शङ्कर पोखरेलले करिब ३० मिनेट सम्बोधन गरे । पोखरेलले आफ्नो सम्बोधनको अधिकांश समय एमाले नेतृत्वका सरकारले गर्न खोजेका कामको चर्चा र प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीको बचाउमा खर्चिए ।
यती, ओम्नी, गिरीबन्धुलगायतका प्रकरणमा एमाले चोखो रहेको तर्क गरेका पोखरेलले रेल, पानी जहाज र नेपाललाई सुरुङ युगमा प्रवेश गराउने एमाले र एमाले नेतृत्वमाथि चौतर्फी प्रहार गर्ने षड्यन्त्रलाई परास्त पार्नुपर्ने आवश्यकतामा जोड दिए ।