काठमाडौँ । आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनमा लज्जास्पद नतिजा आएपछि राजावादी पार्टी राप्रपाभित्र हलचल भएको छ । उपनिर्वाचनमा सुधारिएको नतिजा ल्याउनेमात्रै नभइ केही स्थानमा जित्नेसमेत लक्ष्य लिए पनि अधिकांश स्थानमा उम्मेदवारको जमानत नै जफत भएसँगै राप्रपाभित्र हलचल उत्पन्न भएको हो ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैली तथा पार्टीभित्रको एजेण्डालाई स्थापित गर्न नसकिँदा त्यसको असर नतिजामा परेको पार्टीभित्रका असन्तुष्ट नेताहरूको जिकिर छ । पार्टीभित्र पछिल्लो समय अध्यक्ष लिङ्देनको कार्यशैलीको पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनी, डा धवल शमशेर राणालगायतका एक समूहका नेताहरूले निरन्तर प्रश्न उठाउँदै आएका छन् । पार्टीभित्र दुई लाइन संघर्ष चलिरहेकै बेला भएको उपनिर्वाचनमा पार्टीको कुनै जादु चल्न नसकेको हो । असन्तुष्ट नेताहरूले अध्यक्षको कार्यशैलीलाई हारको मुख्य कारणका रूपमा औँल्याएका छन् । पार्टीको एजेण्डालाई प्रभावकारी रूपमा अघि बढाउन नसक्दा जनताको विश्वास जित्न नसकेको उनीहरूको ठहर छ ।

असन्तुष्ट पक्षका एक नेताले उपनिर्वाचनमा पार्टीको पक्षमा आएको नतिजाबारे तत्काल गम्भीर समीक्षा हुनुपर्ने बताए । उनले सबैभन्दा पहिला अध्यक्षले नैतिक जिम्मेवारी लिनुपर्ने उल्लेख गर्दै पार्टीमा विधि र पद्धति मिचेर मनोमानी गरिँदा निरन्तर समस्या उत्पन्न भइरहेको दाबी गरे ।

तर, राप्रपाका उपाध्यक्ष तथा संगठन विभाग प्रमुख बुद्धिमान तामाङले अन्तरविरोधकै असर नतिजामा परेको भन्न नमिल्ने बताए । यद्यपि पार्टीभित्र समस्या छ भने छलफलबाट समाधान खोजिनुपर्ने उनको भनाइ छ । ‘अन्तरविरोधले पनि असर पर्न सक्छ । तर अहिलेको नतिजा त्यस्तो होइन’, उनले भने, ‘हामीभित्र त्यति ठुलो झगडा पनि होइन । कांग्रेस–एमालेको जस्तो हाम्रोमा छैन । तर पनि बिचमा केही साथीहरूमा अलिअलि भएकोचाहिँ हो । तर ठुलो होइन । यदि त्यस्तो भयो भने त हाम्रोजस्तो सानो पार्टी टिक्नै सक्दैन नि !’

समग्रमा संगठनमा केही कमजोर भएकाले त्यसको असर नतिजामा परेको उल्लेख गर्दै तामाङले आगामी दिनमा त्यस्ता कमी कमजोरी हल गरेर अघि बढिने प्रस्ट पारे ।

यस्तै तामाङले आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनमा पार्टीले पहिला उम्मेदवार नउठाएको ठाउँमा अहिले उम्मेदवार खडा गरेको जिकिर गर्दै यसलाई जित–हारसँग तुलना गर्नुभन्दा पनि पार्टीको प्रभाव बढाउने अर्थमा लिनुपर्ने बताए । ‘पहिला उठाएको ठाउँमा पनि अहिले पहिलेको भन्दा सुधारिएको नतिजा आएको छ’, उनले भने, ‘तर मुख्य कुरा ठुला पार्टीका कार्यकर्ताले मात्रै भोट हाले । जनता भोट हाल्नै आएनन् ।’

राप्रपाका कार्यकर्ता जनतासम्म नजानु, जनतामा पनि भोट हाल्ने हुटहुटी नहुनु जस्ता कारणले न्युट्रल भोट नै खस्न नसकेको तामाङको जिकिर थियो । ‘उपनिर्वाचनमा जुन हिसाबले मत झर्नुपर्ने थियो, झर्न सकेन । किन झरेन भने ठुला पार्टीहरूका कार्यकर्ताले मात्रै भोट हाले । जनताले भोटै हालेनन्’, उनले थपे, ‘अहिले खसेको अधिकांश भोट कार्यकर्ताको मात्रै हो । जसको कार्यकर्ता छ, पार्टीसँग अट्याच भएर बसेको छ, त्यसको भोटमात्रै आयो ।

यद्यपि राप्रपाले संगठनमा ध्यान नदिनु भने कमजोरी भएको उनको स्वीकारोक्ति थियो । ‘हाम्रो आफ्नो हकमा संगठन कमजोर भएको हुनसक्छ । यसबारे हामी पार्टीमा समीक्षा गर्छौं’, संगठन विभाग प्रमुख तामाङले भने, ‘संगठनको विषयमा अब हामीले छलफल गरेर उपयुक्त निर्णय गरेर अघि बढ्नेछौँ ।’

संगठन चुस्त हुन्थ्यो भने भोट बढाउन सकिने पर्याप्त आधार देखिएको तामाङको भनाइ थियो । ‘हाम्रो भोटर थियो तर हाम्रो कार्यकर्ता नभएर पनि उहाँहरूलाई जगाउन समस्या भयो । कार्यकर्ता भोटरसम्म पुग्नै सकेन । भोटरलाई घरबाट बुथसम्म लैजाने मान्छे नै भएन ।’

तामाङले उपनिर्वाचनमा हारेपछि सन्तुष्ट कोही पनि हुन नसक्ने उल्लेख गर्दै केही स्थानमा मत भने बढाउन सकिएको बताए । ‘हामीले सबै ठाउँमा उम्मेदवारी दिने भनेका थियौँ । त्यहीअनुसार केहीबाहेक सबैमा दिइयो । हाम्रो नीति नै भोट बढाउने र जित्ने भन्ने थियो । जित्न नसके पनि केही भोट बढेको छ’, उनले भने ।

तामाङले सम्भवतः अर्को हप्ता केन्द्रीय कार्यसम्पादन समिति बैठक बसेर उपनिर्वाचनको समीक्षा गरिने जानकारी दिँदै आवश्यक परे केन्द्रीय समिति बैठक पनि बोलाउन सकिने बताए ।

उपनिर्वाचनमा मत बढाउन राप्रपाले राम्रै तयारी गरेको थियो । सोहीअनुसार हरेक उपनिर्वाचन हुने क्षेत्रमा केन्द्रीय तहबाट कमाण्डर नै तोकेर आवश्यक रणनीति बनाउने लगायतका काम भएका थिए । तर, पनि नतिजा निराशाजनक भएपछि पार्टीको नेतृत्वमाथि नै प्रश्न उठाइएको हो । त्यसमाथि राप्रपाका अध्यक्ष लिङ्देनले समेत आफ्नो आलोचकमाथि बेलाबेलामा कटाक्ष गर्दै आएको सन्दर्भमा असन्तुष्ट पक्षका नेताहरूले पनि चुनावी नतिजा कमजोर आउनुमा उनलाई नै दोष थोपरेका हुन् ।

रातोपाटीसँगको अन्तरवार्ताका क्रममा केही दिनअघि लिङ्देनले फरक मत राख्ने नेताहरूमाथि कटाक्ष गरेका थिए । उनले अहिलेको गतिमा जाने हो भने भोलिका दिनमा पार्टीमा कोही पनि नरहने उल्लेख गर्दै चुनाव जित्ने कुरा त टाढाको विषय भएको बताएका थिए । उनको भनाइ थियो, ‘यही गतिमा जाने हो भने त भोलि हामीले मलामी पनि पाउँदैनौँ । चुनाव जित्ने र मान्यता स्थापित गर्ने कुरा त परको विषय हो ।’

यस्तै लिङ्देनले ‘पार्टी फुटाउनका लागि आमाको दुध खाएको कोही पनि नेता नभएको’ अभिव्यक्ति दिएपछि पार्टीभित्रका इतर समूहका नेताहरू थप रुष्ट भएको बताइएको छ । उनले भनेका थिए, ‘पार्टीको लोकप्रियतामा पनि प्रश्न छ भन्ने मलाई लाग्दैन । अहिले नै यो पार्टी फुटाउने गरी आमाको दुध खाएको त्यस्तो बहादुर छोरा छजस्तो लाग्दैन ।’

राप्रपाका केन्द्रीय सदस्य जनकराज पाठकले राप्रपा जनतामाझ चिनिए पनि उपनिर्वाचनमा मत जित्न नसक्नु गम्भीर विषय भएको बताए । उनले यसको जिम्मेवारी सबै तहका सबै नेताले लिनुपर्ने उल्लेख गर्दै भने, ‘नेतृत्वदेखि कार्यकर्ता तहसम्म सबैले जिम्मेवारी लिनुपर्छ । अब पार्टीलाई नयाँ रणनीतिका साथ अगाडि बढाउन जरुरी देखिन्छ ।’

यस्तो नतिजा आउनुको कारण खोज्नमा लागि पार्टीभित्र गम्भीर समीक्षा आवश्यक भएको उनको भनाइ छ ।

राप्रपका प्रवक्ता सगुन लावतीले उपनिर्वाचनमा प्राप्त भएको मतले पार्टीलाई चिन्तित बनाउनु स्वाभाविक भएको उल्लेख गर्दै यसबारे गहन र मिहिन ढंगले समीक्षा गरिनुपर्ने बताए । ‘हामी जनतामा जुन हिसाबमा गइरहेका छौँ र हाम्रो नीतिगत तथा सैद्धान्तिक धार जनतामा प्रस्ट लानुपर्नेमा त्यो गर्न नसकिएको आभास भएको छ । किनभने विभिन्न समयमा भएका तिनै तहको उपनिर्वाचनमा हामीलाई सकारात्मक प्रतिफल प्राप्त हुन सकेन’, उनले भने, ‘त्यो भनेको हाम्रो पार्टी, हाम्रो नेतृत्व र सबैको काम गराई र जनताको चाहना मिट भएन कि !’ यीलगायतका विषयमा छलफल गरेर सुधारको दिशामा अघि बढ्नपर्ने उनको भनाइ छ ।

सोमबार सार्वजनिक अन्तिम चुनावी नतिजाअनुसार राप्रपाका ७ जना उम्मेदवारले त १० मत पनि कटाउन सकेका थिएनन् । उपनिर्वाचनमा राप्रपाले ३४ स्थानमा उम्मेदवारी दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय