
नुवाकोट । शिवपुरी गाउँपालिका-८, स्थित छहरे लौके झरना हेर्न गएका बेला अचानक आएको बाढीका कारण खोलापारी फसेका चारजना युवायुवतीको प्रहरीले सकुशल उद्धार गरेको छ। साँझ करिब ६ बजे अकस्मात् आएको बाढीले खोला तर्न नसकेपछि उनीहरू खोलापारी फसेका थिए। घटनाको जानकारी पाएपछि प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे र जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीको नेतृत्वमा १० जनाको प्रहरी टोली र अस्थायी प्रहरी पोस्ट छहरेका इन्चार्ज प्रहरी सहायक निरीक्षक राजबाबु सिंह राजपुतको कमान्डमा थप तीन जनाको टोली परिचालन गरिएको थियो।
उक्त टोलीले बेलुकी ६:४५ बजेतिर उनीहरूको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक विक्रम लामाले जानकारी दिए। उद्धार गरिएकाहरूमा ललितपुरको सातदोबाटो निवासी २४ वर्षकी लक्ष्मी शिंखडा, शिवपुरी गाउँपालिका-८ निवासी २२ वर्षीय अनिश नेपाली, २१ वर्षीय कृष्ण नेपाली र २६ वर्षीय राजेश नेपाली रहेका छन्। उद्धार गरिएका सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।






