बैतडी — सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री सुरेन्द्र बहादुर पाल सवार गाडीको ठक्करबाट बैतडीका १२ वर्षीय दलित बालक किरण कोलीको मृत्यु भएको आरोप लागेको छ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार मन्त्रीको गाडी अघि बढ्ने क्रममा बाटो काटिरहेका बालकलाई रोकेपछि विवाद उत्पन्न भएको थियो। सो क्रममा ड्राइभरले बालकलाई धम्क्याउँदै लखेटेका थिए। भाग्दै गरेका बालकलाई गाडीले किच्दा घटनास्थलमै मृत्यु भएको दाबी गरिएको छ।
कुरा यत्तिमै सीमित नभएको पीडित परिवारको गुनासो छ। उनीहरूको भनाइअनुसार घटनाबारे बोल्न नदिन धम्की दिएको र जबर्जस्ती ५ लाख रुपैयाँ बैंक खातामा राखेर ‘मिलापत्र’ गर्न लगाइएको छ। साथै, पीडित परिवारका सदस्य, विशेष गरी एकल महिलालाई धम्की दिइएको आरोप समेत छ।
पीडित पक्षले घटनाबारे उजुरी दर्ता गर्न खोज्दा प्रहरीले मुद्दा लिन अस्वीकार गरेको आरोप पनि सार्वजनिक भएको छ। यसले स्थानीयवासी, दलित समुदाय र नागरिक समाजमा गम्भीर आक्रोश पैदा गरेको छ। उनीहरूले यसलाई केवल सडक दुर्घटना नभई जातीय विभेद र सत्ता दुरुपयोगसहितको आपराधिक कृत्य भन्दै निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।
यसबारेमा हालसम्म मन्त्री पाल वा प्रहरी प्रशासनले आधिकारिक धारणा सार्वजनिक गरेका छैनन्।






