गोरखा । संयुक्त अरब इमिरेट्स (युएई) को सारजाह क्षेत्रबाट गोरखा जिल्ला भिमसेन थापा गाउँपालिका–सिमलफेद निवासी हरि बन्जारा अगष्ट १९ तारिखदेखि सम्पर्कविहीन रहेका छन्।
घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै गोरखा सेवा समाज युएईले खोजी कार्यलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ। समाजका अध्यक्ष साजन श्रेष्ठका अनुसार हराइरहेका बन्जाराको अवस्थाबारे जानकारी प्राप्त गर्न नेपाली राजदूतावास, युएईका सम्बन्धित निकाय तथा उपलब्ध संयन्त्रहरूसँग निरन्तर समन्वय भइरहेको छ।
“समाजले आफ्ना सदस्य मात्र नभई सम्पूर्ण नेपाली समुदायको हित, सुरक्षा र सहायतामा सधैँ प्रतिबद्ध रहँदै आएको छ। यो घटनामा पनि सक्दो सहयोग र पहल भइरहेको छ,” अध्यक्ष श्रेष्ठले बताए।
समाजले सम्पूर्ण प्रवासी नेपाली दाजुभाइ दिदीबहिनी, शुभेच्छुक तथा समाजप्रेमीहरूलाई सहयोगका लागि आह्वान गर्दै हराइरहेका बन्जारा सम्बन्धमा कुनै पनि जानकारी वा सुराक प्राप्त भए तुरुन्तै गोरखा सेवा समाज युएई वा नेपाली राजदूतावासलाई जानकारी गराउन आग्रह गरेको छ।