काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता विषय विधान महाधिवेशनको एजेन्डा नबन्ने स्पष्ट पारेका छन् ।
शुक्रबार राजधानीमा सुरु भएको एमालेको दोस्रो विधान महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले पार्टीसँग प्रत्यक्ष सरोकार नभएका विषयलाई अनावश्यक रूपमा संवेदनशील बनाइने प्रवृत्ति देखिएको उल्लेख गरे ।
ओलीले भने, “पार्टीमा कतिपय विषयलाई अनावश्यक ढङ्गले संवेदनशील बनाइएका छन् । तर ती प्रश्नहरू विधान संशोधनसँग सम्बन्धित छैनन् । विधान महाधिवेशनले त्यस्ता कुरा हेर्दैन, ती अन्य कमिटीगत छलफलका विषय हुन् ।”
उनका अनुसार विधान महाधिवेशन संगठनको संरचना, नीतिगत सुधार र विधान संशोधनमा मात्र केन्द्रित हुनेछ । उनले पार्टीभित्र उठेका अन्य जिज्ञासा र विवादलाई क्रमशः सम्बन्धित कमिटीमार्फत टुंग्याइने बताए ।






