
काठमाडौं ।
माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले काठमाण्डौ र देशका विभिन्न स्थानमा जेन–जेड पुस्ताले शान्तिपूर्ण ढंगले आयोजना गरेको विरोध कार्यक्रममा भएको सरकारी गोलीप्रहार र निहत्था युवाको निधनप्रति तीव्र आपत्ति जनाएका छन्।
मध्य पहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियानका क्रममा लमजुङ हुँदै गोरखा पुगेका नेता श्रेष्ठले घटनापछि सबै कार्यक्रम स्थगित गर्दै आकस्मिक बैठकका लागि काठमाडौं फर्किएको जानकारी दिएका छन्।
श्रेष्ठले भने, “नेपालको कुनै पनि शान्तिपूर्ण आन्दोलनमा यस्तो नृशंस नरसंहारकारी दमन पहिले कहिल्यै भएको थिएन। यो कत्लेआम अक्षम्य छ। सरकारलाई अब एक छिन पनि पदमा बस्ने अधिकार छैन।”
उनले मृतकलाई शहीद घोषणा गर्न, घाइतेहरूको उपचार व्यवस्थापन गर्न तथा स्वतन्त्र उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरी दोषीमाथि कठोर कारबाही गर्न माग गरे।
त्यसैगरी, उनले यथास्थितिवाद समाधान नभएको उल्लेख गर्दै संविधानको सकारात्मक संशोधन, राजनीतिक शुद्धीकरण, भ्रष्टाचार र नातावाद–कृपावाद अन्त्यसहित सुशासनको अभियान चलाउनुपर्ने बताए।
श्रेष्ठले सबै लोकतान्त्रिक, देशभक्त र समृद्धिप्रेमी शक्तिहरूलाई एकताबद्ध भई गम्भीर छलफलमा बस्न आह्वान गरे।






