
काठमाडौँ । ललितपुरको खुमलटारस्थित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा सोमबार साँझ प्रदर्शनकारीहरूले आक्रमण गरी आगजनी गरेका छन् ।
स्थानीयवासीका अनुसार सुरुवातमा प्रदर्शनकारीहरूले घर वरिपरिको क्षेत्रमा ढुंगामुढा गरेका थिए । त्यसपछि उनीहरूले निवास अगाडिको सुरक्षा घेराभित्र प्रवेश गर्ने प्रयास गर्दै आगजनीसमेत गरेका हुन् । घटनापछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका एक अधिकृतले रातोपाटीसँग कुरा गर्दै स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको बताए । “सुरक्षाकर्मीले स्थिति नियन्त्रण गर्न काम गरिरहेको छ, थप क्षति हुन नदिन कडा निगरानी बढाइएको छ,” उनले भने ।
जेनजी पुस्ताले सुरु गरेको आन्दोलन सोमबारदेखि राजधानीमा उग्र बनेको हो । विभिन्न मागसहित सुरु भएको आन्दोलनलाई शुक्रबारदेखि निरन्तरता दिइएको भए पनि आजको दिन विशेष गरी ठूलो संख्यामा युवाहरू सडकमा उत्रिएका थिए । उनीहरूले काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा नाराबाजी, प्रदर्शन र तोडफोड गरेका थिए ।
प्रचण्ड निवासमा भएको आक्रमणलाई सरकारले गम्भीर रुपमा लिएको र आवश्यक कारबाही अघि बढाइने बताइएको छ । यस घटनापछि राजनीतिक वृत्तमा समेत चर्को बहस सुरु भएको छ । एक पक्षले आन्दोलनकारीहरूको आक्रोशलाई राजनीतिक नेतृत्वले सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् भने अर्को पक्षले हिंसात्मक रूप लिनु गलत भएको टिप्पणी गरेका छन् ।
उता, प्रदर्शन चर्किंदै गएपछि राजधानीका विभिन्न स्थानमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ । अहिले खुमलटार क्षेत्रमा कडाइका साथ निगरानी गरिएको छ ।






