काठमाडौं, भदौ २९ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले हालै देखिएको जनजागरण आन्दोलनका सन्दर्भमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को धारणा स्पष्ट भइसकेको भन्दै अनावश्यक भ्रम नफैलाउन सबैलाई आग्रह गरेको छ। आइतबार पार्टीका उपाध्यक्ष तथा प्रवक्ता अनीस सापकोटाले जारी गरेको विज्ञप्तिमा आन्दोलनलाई लोकतान्त्रिक अधिकारको हिस्सा मानिए पनि केही समूहले त्यसलाई विकृत पारेर गणतन्त्र र लोकतन्त्रविरोधी नारा तथा गतिविधि सञ्चालन गरेको आरोप लगाइएको छ। विज्ञप्तिमा भनिएको छ, “हाम्रो पार्टीले यस्ता भ्रमपूर्ण तथा भडकाऊ गतिविधिप्रति शब्द र व्यवहार दुवैमा निरन्तर विरोध गर्दै आएको छ।”

माओवादी केन्द्रले अध्यक्ष प्रचण्डसहित शीर्ष नेताहरू, कार्यकर्ता र तिनका परिवारको घर–सम्पत्तिमाथि आक्रमण गर्ने धम्कीपूर्ण गतिविधि भइरहेका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। यस्ता कार्य लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको भन्दै तत्काल नियन्त्रणमा लिन र संलग्नहरूमाथि कानुनी कारबाही गर्न सरकारलाई आग्रह गरिएको छ। पार्टीले कतिपय समूहले आन्दोलनको नाममा माओवादी कार्यकर्ताविरुद्ध गलत प्रचार गर्दै पार्टीलाई कमजोर बनाउन खोजेको आरोप लगाउँदै यस्तो प्रयास कहिल्यै सफल नहुने प्रस्ट पारेको छ।

विज्ञप्तिमा भनिएको छ, “निराधार हल्ला र भ्रम फैलाएर हाम्रो पार्टीलाई कमजोर बनाउन सकिँदैन। जनता यस्ता भ्रामक गतिविधिबाट सचेत रहुन् भन्ने हाम्रो अपिल छ।” माओवादी केन्द्रले आन्दोलनमार्फत उठाइएका वास्तविक मुद्दाहरूलाई सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याउँदै त्यसलाई शान्तिपूर्ण, लोकतान्त्रिक र जिम्मेवार ढंगबाट अघि बढाउन सबै पक्षलाई आह्वान गरेको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय