काठमाडौं, भदौ ३० ।
ध्वस्त भएको सिंहदरबार पुनःनिर्माण अब नेपालीकै हातबाट हुनुपर्ने भन्दै गोरखा जिल्लाका स्थायी बासिन्दा, युवा पर्यटन व्यवसायी तथा समाजसेवी नवराज अम्गाईले राष्ट्रिय अभियान सुरु गर्ने घोषणा गरेका छन्। सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत सिंहदरबारमा लागेको आगलागीको तस्वीर सार्वजनिक गर्दै उनले पुनर्निर्माण कोष स्थापना गर्न आग्रह गर्दै प्रारम्भिक चरणमा आफ्नो तर्फबाट एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन्।
प्रधानमन्त्री सुशिला कार्कीलाई सम्बोधन गर्दै अम्गाईले भनेका छन्, “सिंहदरबार नेपालीले नै पुनःनिर्माण गरौं। प्रधानमन्त्रीज्यूले पुनर्निर्माण कोष स्थापना गर्नुभयो भने मेरो तर्फबाट एक लाख रुपैयाँ सहयोग निश्चित छ।” उनका अनुसार यो केवल एउटा ऐतिहासिक भवन पुनःस्थापना गर्ने कुरा मात्र नभई, सम्पूर्ण नेपालीको आत्मसम्मान, राष्ट्रिय गौरव र पहिचान पुनःनिर्माण गर्ने प्रक्रिया हो।
गोरखामा जन्मिएका अम्गाईले आफ्नो जन्मभूमिको ऐतिहासिक गौरवलाई आत्मसात गर्दै हरेक काममा देशभक्तिपूर्ण सोच अघि सारेका छन्। गोरखा, जुन देश एकीकरणको मूल थलोका रूपमा परिचित छ, त्यही वीरभूमिको सन्तानका रूपमा अम्गाईले सिंहदरबार पुनर्निर्माणलाई केवल संरचना बनाउने अभियान नभई “गौरवशाली इतिहासलाई निरन्तरता दिने प्रयास” का रूपमा व्याख्या गरेका छन्।
ठमेलमा पर्यटन व्यवसाय सञ्चालन गर्दै आएका अम्गाई समाजसेवामा सक्रिय व्यक्तित्वका रूपमा परिचित छन्। शिक्षा, स्वास्थ्य तथा सामुदायिक क्षेत्रमा विभिन्न सहयोगी कार्यक्रममार्फत योगदान पुर्याउँदै आएका उनी पर्यटन प्रवर्द्धन र सामाजिक उत्तरदायित्वलाई व्यवसायसँगै अघि बढाउँदै आएका छन्। यसरी व्यवसायी मात्र नभई समाजसेवीको भूमिकामा रहँदै आएका अम्गाईले अहिले सिंहदरबार पुनर्निर्माण अभियानलाई आफ्नो व्यक्तिगत दायित्व मात्र नभई सम्पूर्ण नेपालीको साझा जिम्मेवारीका रूपमा अघि सारेका छन्।
उनको सन्देशले सामाजिक सञ्जालमा ठूलो चर्चा पाएको छ। सयौंले लाइक, कमेन्ट र शेयर गर्दै अभियानलाई समर्थन जनाएका छन् भने प्रत्यक्ष सहयोग गर्ने प्रतिबद्धता पनि देखाएका छन्। “सिंहदरबार हाम्रो गौरव हो, यसलाई पुनःनिर्माण गर्ने जिम्मा पनि हामी नेपालीकै हो” भन्ने भावनाले सर्वसाधारणदेखि बुद्धिजीवीसम्मको ध्यान आकर्षित गरेको छ। धेरैले यस अभियानलाई दीर्घकालीन राष्ट्रिय कार्यक्रम बनाउनुपर्ने सुझाव पनि दिएका छन्।
यसैबीच, भर्खरै बनेको सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारले कार्य प्रारम्भसँगै सुशासन र पारदर्शिताको अपेक्षा जगाएको छ। जेनेरेसन–जेडको आन्दोलनपछि आएको राजनीतिक परिवर्तनसँगै अम्गाईले सुरु गरेको पुनर्निर्माण अभियानलाई नागरिक स्तरबाट आएको सकारात्मक सुरुवातका रूपमा व्याख्या गर्न सकिन्छ। विशेषज्ञहरूको भनाइमा सिंहदरबारको पुनर्निर्माण केवल सरकारी संरचना पुनःनिर्माणको विषय मात्र नभई, नेपालको राजनीतिक इतिहास, नागरिक गौरव र साझा जिम्मेवारीलाई मूर्तरूप दिने अवसर हो।
त्यसैले, गोरखालीको वीरगाथा र इतिहास बोकेका व्यवसायी मात्र नभई समाजसेवीका रूपमा समेत परिचित नवराज अम्गाईले सुरु गरेको यो अभियानले निकट भविष्यमा ठोस आकार लिने धेरैको विश्वास छ !