नेपालीकै हातमा पुनर्निर्माण : मन्त्री कुलमान घिसिङको ‘महाअभियान’ आह्वान
काठमाडौं, भदौ ३१ — उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री कुलमान घिसिङले हालैको विनाश र ध्वंसमा परेका संरचनाको पुनर्निर्माणका लागि सम्पूर्ण नेपाली जनतालाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन्। उनले यसका लागि विशेष ‘पुनर्निर्माण कोष’ स्थापना गरिएको जानकारी दिँदै यस अभियानलाई ‘महाअभियान’को रुपमा अघि बढाइने बताए।
सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री घिसिङले भने, “नेपाली जनताले भत्काएको संरचना नेपाली जनताले नै बनाउने हो। यस महाअभियानमार्फत हामीले विश्वलाई सन्देश दिनुपर्छ कि हामी आफैंमा सक्षम छौं र आफ्नो आवश्यकता पूरा गर्न कुनै विदेशी संस्थामा निर्भर रहनु पर्दैन।”
उनका अनुसार, यस कोषमा योगदान दिनका लागि नेपालमा बसोबास गर्ने मात्र होइन, विदेशमा रहेका नेपालीहरूलाई पनि विशेष आग्रह गरिएको छ। “देशभित्र रहेका नेपाली नागरिकहरूले आफ्नो क्षमताअनुसार योगदान दिनुपर्छ, र विदेशमा रहेका नेपालीहरू पनि यस अभियानमा जोडिनु पर्छ। धेरै नेपालीहरू विदेशमा बसेर नै सहयोग गर्न इच्छुक भएको देखिन्छ, त्यसैले हामी सबै मिलेर यो महाअभियानलाई राष्ट्रिय गौरवको अभियान बनाऔं,” मन्त्री घिसिङले भने।
मन्त्रीले पुनर्निर्माण अभियानलाई आत्मनिर्भरता र राष्ट्रिय स्वाभिमानसँग जोड्दै यसलाई देशकै पहिचान बनाउने विश्वास व्यक्त गरे। उनका अनुसार, यो कोषमार्फत संकलित रकमले भत्काइएका संरचनाको पुनर्निर्माण मात्र हुने छैन, यसले नेपाली जनताबीचको ऐक्यबद्धता, आत्मविश्वास र साझा जिम्मेवारीको भावनालाई पनि मजबुत बनाउनेछ।
“यो हाम्रो गौरवको कुरा हो। हामीले आफैंले भत्काएको संरचना आफैंले पुनःनिर्माण गर्न सक्यौं भने, यसले हाम्रो भावी पुस्तालाई पनि आत्मनिर्भर बन्न प्रेरणा दिनेछ,” उनले थपे।
मन्त्री घिसिङले आगामी दिनमा कोषको पारदर्शिता, जिम्मेवारीपूर्ण व्यवस्थापन र जनसहभागितालाई प्राथमिकतामा राखिने प्रतिबद्धता जनाएका छन्। उनका अनुसार, यस महाअभियानमा संलग्न प्रत्येक नेपालीको सानो योगदानले पनि ठूलो परिवर्तन ल्याउनेछ र यसले नेपाललाई पुनर्निर्माण मात्र होइन, अझ सबल र आत्मनिर्भर राष्ट्रको रुपमा अघि बढाउनेछ।