काठमाडौं, असोज २ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले आगामी आम निर्वाचन तोकिएको मितिमै सम्पन्न हुनुपर्नेमा जोड दिएका छन्। उनले अन्तरिम सरकारलाई असफल बनाउन सक्ने प्रयासहरू सुरु भइसकेको भन्दै मुलुकलाई थप अस्थिरताबाट जोगाउन सबै पक्ष सचेत रहनुपर्ने आवश्यकता औंल्याए।

बिहीबार जारी गरेको भिडियो सन्देशमा प्रचण्डले भने, “अन्तरिम सरकारलाई पनि असफल बनाउने प्रयास सुरु भइसकेको छ। चुनाव हुन नदिने र मुलुकलाई थप अस्थिरता तिर लैजान योजना हुन सक्छ। तर हामी घोषित मितिमा निर्वाचन सम्पन्न होस् भन्ने चाहन्छौँ।”

उनले निर्वाचनलाई ढिलो गर्ने वा असफल बनाउन खोज्ने कुनै पनि गतिविधिले लोकतान्त्रिक प्रक्रियालाई क्षति पुर्याउने चेतावनी दिए। प्रचण्डका अनुसार मुलुकलाई स्थायित्व र नयाँ राजनीतिक अध्यायतर्फ डोर्याउन तोकिएको मितिमा चुनाव हुनु अपरिहार्य छ।

उनले थप भने, “देशभक्त र लोकतन्त्रवादी शक्तिहरूका लागि अबका दिनहरू निरन्तर चुनौतीपूर्ण हुनेछन्। त्यसैले सबैले जिम्मेवारीपूर्वक अघि बढ्नुपर्छ।”

राजनीतिक विश्लेषकहरूले प्रचण्डको यस अभिव्यक्तिलाई हालको राजनीतिक परिदृश्यमा महत्त्वपूर्ण सन्देशका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार हालै बनेको अन्तरिम सरकारलाई कमजोर बनाउन खोज्ने गतिविधि बढ्दै गएको सन्दर्भमा प्रचण्डले तोकिएको मितिमै निर्वाचन सम्पन्न हुनुपर्ने प्रष्ट रूपमा उल्लेख गर्नु मुलुकको राजनीतिक स्थिरताका लागि सकारात्मक सन्देश हो।

आगामी निर्वाचनलाई निष्पक्ष, विश्वसनीय र निर्धारित तालिकाअनुसार सम्पन्न गर्न निर्वाचन आयोग र राजनीतिक दलहरूले अझ गम्भीरतापूर्वक तयारी गर्नुपर्नेमा पनि उनको जोड रह्यो।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय