गोरखा । भिमसेन थापा गाउँपालिका–३ मा अवस्थित तान्द्राङ युवा क्लबको आयोजनामा ‘दोश्रो तान्द्राङ कप २०८२’ खुला पुरुष फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। स्थानीय स्तरमा खेलकुदको विकास गर्दै युवाहरूलाई सकारात्मक दिशातर्फ अग्रसर गराउने, अनुशासित र जिम्मेवार नागरिक उत्पादन गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

प्रतियोगिता २०८२ साल पुष २८ गतेदेखि माघ १ गतेसम्म भिमसेन थापा गाउँपालिका–३, गोरखास्थित कुलिगैरा खेलमैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा गोरखा जिल्लासहित आसपासका विभिन्न जिल्लाबाट उत्कृष्ट तथा प्रतिस्पर्धी टिमहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

खेलाडीहरूको मेहनत, क्षमता र खेलभावनाको उच्च मूल्याङ्कन गर्दै प्रतियोगिताअन्तर्गत आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगिताको प्रथम पुरस्कार अन्तर्गत विजेता टिमलाई नगद रु. १,६६,६६६ (एक लाख छैसठ्ठी हजार छ सय छैसठ्ठी) सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
त्यस्तै दोश्रो पुरस्कार प्राप्त गर्ने टिमलाई नगद रु. ८८,८८८ (अठासी हजार आठ सय अठासी) तथा मेडल र प्रमाणपत्र, र तृतीय पुरस्कार प्राप्त गर्ने टिमलाई नगद रु. ४४,४४४ (चौवालीस हजार चार सय चौवालीस) सहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ।

यसका अतिरिक्त प्रतियोगिताअन्तर्गत उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट गोलकर्ता तथा फेयर प्ले टिमलाई जनही रु. १०–१० हजार नगद पुरस्कार प्रदान गरिनेछ।

प्रतियोगितामा सहभागी हुन इच्छुक टिमहरूका लागि टिम दर्ता शुल्क रु. १५,००० तोकिएको छ। समयमै दर्ता गरिएका टिमहरूलाई मात्र प्रतियोगितामा सहभागी गराइने क्लबले जनाएको छ।

क्लबका सह–सचिव अमृत खनालका अनुसार, “खेलकुदमार्फत युवाहरूलाई एकताबद्ध गर्दै स्वस्थ, अनुशासित र सचेत समाज निर्माण गर्नु हाम्रो लक्ष्य हो। तान्द्राङ कप केवल प्रतियोगिता मात्र नभई स्थानीय युवाको प्रतिभा उजागर गर्ने साझा मञ्च हो। सम्पूर्ण समुदायको सहयोगमा प्रतियोगितालाई सफल बनाइनेछ।”

स्थानीय खेलकुदलाई संस्थागत गर्दै भिमसेन थापा गाउँपालिकाको पहिचानलाई जिल्लास्तर हुँदै राष्ट्रिय स्तरसम्म चिनाउने उद्देश्यसहित आयोजना हुन लागेको प्रतियोगिताले क्षेत्रीय खेलकुद गतिविधिमा नयाँ ऊर्जा थप्ने विश्वास आयोजकको छ।

आयोजक तान्द्राङ युवा क्लब, भिमसेन थापा गाउँपालिका–३, गोरखाले सम्पूर्ण खेलप्रेमी, युवाहरू, खेलकुदकर्मी, समाजसेवी तथा सञ्चारमाध्यमलाई प्रतियोगितामा उपस्थित भई कार्यक्रमलाई भव्य र सफल बनाउन आग्रह गरेको छ।

100% LikesVS
0% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय