चितवन । रास्वपा महाधिवेशन अन्तर्गत पदाधिकारी चयनमा सहमति जुटाउने रातभरको प्रयास असफल भएको छ ।
एक महामन्त्रीको लागि चुनावी मैदानमा ५ जना दाबेदार थिए । तर निर्वाचन आयोगले पहिलो चारणको नतिजा प्रकाशित गरेपछि केन्द्रीय समितिमा लोकप्रिय मत प्राप्त गरेका अन्य नेताले पनि महामन्त्री पदमा आकांक्षा देखाए । एक पदका लागि ११ जनाले उम्मेदवारी दिने घोषणा गरे ।
उम्मेदवारको लर्को लागेपछि सभापति रवि लामिछाने सर्वसम्मत पदाधिकारी छान्नका लागि ८ घण्टासम्म प्रयास गरेका थिए ।
रास्वपाका एक नेताका अनुसार महामन्त्री पदमा निवर्तमान महामन्त्री कवीन्द्र बुर्लाकोटी, सहमहामन्त्री विपिनकुमार आचार्य, प्रवक्ता मनिष झा, निवर्तमान सचिवालय सदस्य गणेश पराजुली, सागर ढकाल, गणेश कार्की, प्रमोद न्यौपाने, रञ्जु दर्शना, पूर्व सञ्चारमन्त्री जगदीश खरेल र राजु पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् । तर अन्तिम समयसम्म सहमति गराउने प्रयास भने जारी राखेको नेता बुर्लाकोटीले जानकारी दिए ।
‘सभापतिले रातभर बसेर सहमतिको प्रयास गर्नुभयो तर आफूले उम्मेदवारी फिर्ता लिँदा अर्को जिम्मेवारी के पाउँछु भन्ने कुरा गर्नुभयो । यसरी पार्टी कसरी निर्माण हुन्छ ?’, प्रतिनिधिहरूसँग बुर्लाकोटीको गुनासो थियो ।






