काठमाडौँ :साविक उपविजेता फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। अमेरिकाको बोस्टन स्टेडियममा आज विहान भएको पहिलो क्वाटरफाइनल खेलमा मोरक्कोलाई २–० गोल अन्तरले पराजित गर्दै फ्रान्स लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलमा पुगेको हो। फ्रान्सको जितमा कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलले समान एक–एक गोल गरे। यो हारसँगै अन्तर्राष्ट्रिय फुटबलमा मोरक्कोको लगातार ३४ खेलको अपराजित यात्रामा पनि पूर्णविराम लागेको छ।
चार वर्षअघि कतार विश्वकपको सेमिफाइनलमा बेहोरेको हारको बदला लिने लक्ष्यसहित मैदान उत्रिएको मोरक्कोले पहिलो हाफमा फ्रान्सलाई बलियो टक्कर दिएको थियो। खेलको २५औं मिनेटमा मोरक्कोका माजाउरीले एमबाप्पेलाई पेनाल्टी बक्समा फल गरेपछि फ्रान्सले पेनाल्टीको अवसर पाएको थियो। तर, २८औं मिनेटमा एमबाप्पेले प्रहार गरेको पेनाल्टीलाई मोरक्कोका गोलकिपर यासिन बोनोले उत्कृष्ट बचाउ गरे। पहिलो हाफमा बोनोले उपामेकानोको हेडर र लुकास डिग्नेको प्रहार समेत विफल पार्दै फ्रान्सलाई गोल गर्न दिएका थिएनन्।
तर, दोस्रो हाफमा फ्रान्सका फरवार्डहरू खेलमा हाबी भए। खेलको ६०औं मिनेटमा डिजायर डुएको पासमा कप्तान एमबाप्पेले उत्कृष्ट गोल गर्दै फ्रान्सलाई सुरुवाती अग्रता दिलाए। यो गोलसँगै एमबाप्पे चालु विश्वकपमा ८ गोल र ३ असिस्टसहित सर्वाधिक गोलकर्ताको दौडमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीभन्दा अगाडि लागेका छन्। मेसीको ८ गोल र १ असिस्ट छ।
त्यसको ६ मिनेट लगतै, अर्थात् ६६औं मिनेटमा एमबाप्पेको पासमा उसमान डेम्बेलेले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारे। डेम्बेलेको यस विश्वकपमा यो पाँचौं गोल हो। सन् २०१८ को विजेता फ्रान्सले अब फाइनल प्रवेशका लागि स्पेन र बेल्जियमबीच हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।






