काठमाडौं : सुरुवातमा चिकित्सकहरूले दिएको सुझाव अनुसार मुगु सोरु गाउँपालिका–१ का २५ वर्षीय जलनका बिरामी गणेश नेपालीलाई उपचारका लागि भारतको नयाँ दिल्लीस्थित ‘एम्स’ अस्पताल लैजाने सरकारको सम्पूर्ण तयारी तत्कालका लागि रोकिएको छ । वीर अस्पतालको बर्न आईसीयू वार्डमा भेन्टिलेटरमा रहेका नेपालीको स्वास्थ्य अवस्था अस्थिर बनेपछि चिकित्सकहरूकै सल्लाहमा भारत लैजाने प्रक्रिया रोकिएको हो ।

यस्तो जटिल अवस्थामा अन्यत्र स्थानान्तरण (सिफ्ट) गर्दा ज्यानको झन् ठूलो जोखिम हुने चिकित्सकहरूले बताएका छन् । उनीहरूले नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्रै भारत लैजान सुझाव दिएका छन् ।

रातभर सडकमा गृहमन्त्री, प्रधानमन्त्री सचिवालयका सदस्यहरू अस्पतालमै

बिहीबार दिउँसो ३ बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएका नेपालीको शरीर ५५ प्रतिशत जलेको छ । उनलाई थप उपचारका लागि तत्कालै विमानस्थल पुर्‍याउन गृहमन्त्री सुदन गुरुङ आफैँ खटिएर सडकमा नेपाल प्रहरी र ट्राफिक प्रहरी रातभर परिचालन गरेका थिए । सरकारले उनका लागि हवाई उद्धार (एयर एम्बुलेन्स) को समेत व्यवस्था गरिसकेको थियो भने भारतको विमानस्थलबाट एम्स अस्पतालसम्म लैजाने सबै बन्दोबस्त पूरा भइसकेको थियो ।

नेपालीको सम्पूर्ण उपचार खर्च सरकारी कोषबाटै ब्यहोर्ने निर्णय गरेको सरकारले उनको स्वास्थ्य अवस्था बिग्रेपछि प्लान परिवर्तन गरेको हो । हाल गृहमन्त्री गुरुङ र प्रधानमन्त्री वालेन्द्र शाहका सचिवालयका सदस्यहरू वीर अस्पतालमै ‘स्ट्यान्ड बाइ’ अवस्थामा गएरातीदेखि निरन्तर खटिएका छन् ।

२१ जनाको विशेष टोली जीवन रक्षाका लागि संघर्षरत

हाल वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालको नेतृत्वमा २१ जनाको विशेष टोली नेपालीको जीवन रक्षाका लागि निरन्तर खटिएको छ ।

उपचारमा संलग्न मुख्य चिकित्सकहरूको टोली:

  • डा. पियुष दाहाल – संयोजक, प्लास्टिक सर्जरी विभाग

  • डा. अपार लामिछाने – युनिट प्रमुख

  • डा. निर्मण ज्ञवाली – क्रिटिकल केयर विशेषज्ञ

  • डा. जयप्रकाश ठाकुर – एनेस्थेटिस्ट

  • प्रा. डा. रविराम श्रेष्ठ – वरिष्ठ चिकित्सक

यो टोलीसँगै नर्सिङ सेवाका स्वास्थ्यकर्मीहरू सम्मिलित विशेष टोलीले बिरामीको रक्तचाप (ब्लड प्रेसर) नियन्त्रणमा राख्न र स्वास्थ्य अवस्थालाई स्थिर बनाउन निरन्तर विशेष औषधिहरू चलाइरहेको अस्पताल प्रशासनले जनाएको छ

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय