काठमाडौँःबाल मन्दिर (नेपाल बाल संगठन) मा भएको ठगी प्रकरणमा आठ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको अनुसन्धानका आधारमा तत्कालीन पदाधिकारीहरूमाथि ठगीको कसुरमा अभियोग दर्ता गरिएको हो । मुद्दा दायर गरिएकामध्ये तत्कालीन योजना तथा छात्रवृत्ति शाखा प्रमुख ५४ वर्षीया आशा श्रेष्ठ, संगठनका तत्कालीन सचिव ५१ वर्षीय राजेन्द्र कुमार श्रेष्ठ, तत्कालीन सभापति ६२ वर्षीय ओमकृष्ण कर्माचार्य, तत्कालीन सभापति युरी कुमारी राई विरुद्ध मुद्दा दायर भएको हो । यसैगरी तत्कालीन कोषाध्यक्ष ७४ वर्षीय दीपकदास श्रेष्ठ, तत्कालीन कोषाध्यक्ष ६० वर्षीय प्रयागराज श्रेष्ठ, तत्कालीन सभापति ६३ वर्षीय भगवान शाक्य र तत्कालीन सल्लाहकार ५६ वर्षीय रामकृष्ण चित्रकार विरुद्ध पनि मुद्दा दायर भएको छ ।
दायर गरिएकामध्ये तत्कालीन योजना तथा छात्रवृत्ति शाखा प्रमुख आशा श्रेष्ठ, तत्कालीन सचिव राजेन्द्रकुमार श्रेष्ठ र तत्कालीन सभापति ओमकृष्ण कर्माचार्य पक्राउ परेका छन् । बाँकी पाँच जना फरार प्रतिवादीका रूपमा मुद्दामा समावेश छन् । सीआईबीका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराका अनुसार उनीहरूमाथि ठगीको कसुरमा अभियोजन गरिएको हो ।
उच्च अदालतका पूर्वमुख्य न्यायाधीश हरिबाबु भट्टराई नेतृत्वको आयोगले २०७७ मै प्रतिवेदन बुझाए पनि मन्त्रिपरिषद्ले गत चैतमा त्यसलाई कार्यान्वयन गर्ने निर्णय गरेपछि सीआईबीले अनुसन्धान अघि बढाएको थियो ।






