काठमाडौँःगुडिरहेको मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाएको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य बब्लु गुप्तालाई ट्राफिक प्रहरीले ५ सय रुपैयाँ जरिबाना गरेको छ । सिरहा–१ बाट निर्वाचित सांसद गुप्ता जिल्ला ट्राफिक प्रहरी कार्यालय, लहान पुगेर आफैंले जरिबाना बुझाएका हुन् ।
सार्वजनिक रूपमा ट्राफिक नियम उल्लंघन गरेको भन्दै आलोचना भएपछि प्रहरीले उनीमाथि कारबाही गरेको हो । घटनापछि गुप्ताले फेसबुकमार्फत ट्राफिक नियम उल्लंघन भएको स्वीकार गर्दै क्षमायाचना गरेका छन् । उनले रमाइलोको क्रममा भएको गल्ती दोहोरिन नदिने र आफ्नो ऊर्जा देश तथा जनताको हितमा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यसअघि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई पनि ट्राफिक नियम उल्लंघनको कसुरमा प्रहरीले जरिबाना गरिसकेको थियो ।






