काठमाडौँः नेपाल मिडिया सोसाइटीले जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई तत्काल र निःशर्त रिहा गर्न माग गरेको छ । सोसाइटीले प्रकाशित समाचारमा कुनै कानुनी प्रश्न वा आपत्ति भए प्रचलित कानुन तथा प्रेस काउन्सिलबाट स्थापित प्रक्रियामार्फत समाधान खोज्न आग्रह गरेको छ ।
समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मूल मर्मविपरीत भएको सोसाइटीका महासचिव बोधराज त्रिपाठीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । प्रहरीले श्रेष्ठविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीले आज बिहान जनआस्था कार्यालयमा समेत खानतलासी गरेको छ ।
नेपाल पत्रकार महासंघले पनि श्रेष्ठको पक्राउ र कार्यालयमा गरिएको खानतलासीको विरोध गर्दै विनासर्त रिहाइको माग गरेको छ । महासंघको अगुवाइमा पत्रकारहरूले आज जिल्ला प्रहरी परिसर काठमाडौंअगाडि प्रदर्शन तथा धर्ना दिएका छन् ।






