काठमाडौँः बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सोमबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने क्रममा सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् ।
राजीनामा दिनुअघि बानियाँले आफ्नो एकवर्षे कार्यकालमा सरकारले गरेका प्रमुख कामको २८ बुँदे प्रगति विवरण प्रस्तुत गरेका थिए । नेकपा एमालेले गत ६ साउनमा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार उनले आज विश्वासको मत लिन लागेका थिए । तर, विश्वासको मतका लागि आफ्नै दल नेपाली कांग्रेस र सरकारमा सहभागी हाम्रो नेपाली पार्टीको मात्रै समर्थन रहने अवस्था बनेपछि उनले राजीनामा दिएका हुन्।
नेकपा र एमाले विपक्षमा तथा राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टी तटस्थ बस्ने तयारीमा थिए । बानियाँ २० साउन २०८२ मा मुख्यमन्त्री नियुक्त भएका थिए । उनले २७ साउनमा प्रदेशसभाका ६३ सांसदको समर्थनमा विश्वासको मत पाएका थिए । उनी बागमती प्रदेशका छैटौँ मुख्यमन्त्री हुन् । अब बागमतीमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ । नेकपा र एमालेबीचको गठबन्धनले अन्य दलको समर्थनमा सरकार बनाउने तयारी गरेका छन् । भागबण्डाअनुसार एमालेले सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।
तर, एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाविरुद्ध आफ्नै दलका १६ सांसदले अविश्वास प्रस्ताव दर्ता गरेकाले नयाँ मुख्यमन्त्रीको टुंगो लाग्नुअघि दलभित्रको विवाद समाधान गर्नुपर्ने अवस्था छ । थपलियालाई हटाएर भक्तपुरका किरण थापा मगरलाई संसदीय दलको नेता बनाउन माग गर्दै २७ साउनमा प्रस्ताव दर्ता भएको हो । हाल बागमती प्रदेशसभामा १०४ सदस्य छन्।
कांग्रेसका ३६, नेकपाका २६, एमालेका २५, राप्रपाका १२, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन् । सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ ।






