सोमबार बजार बन्द हुँदा नेप्से परिसूचकमा ‘गोल्डेन क्रसओभर’ को संकेत देखिएको छ।
नेप्सेको रेखा चित्रमा बनेको पाँच दिने मुभिङ एभरेज रेखाले २० दिने मुभिङ एभरेज रेखालाई काटेकोले गोल्डेन क्रसओभरको संकेत देखिएको हो। गोल्डेन क्रसओभरले बजार अब बुलिस प्रवृत्तिमा फर्किएको संकेत गर्छ।
तर, यदि २० दिने रेखाले पाँच दिने मुभिङ एभरेज रेखालाई काटेर माथि लागेमा ‘डेथ क्रसओभर’ भएको मानिन्छ। ‘डेथ क्रसओभर’ ले बजार वियरिस प्रवृत्तिमा फर्किएको संकेत गर्छ।
प्राविधिक विश्लेषण पछ्याउने लगानीकर्ताहरूले गोल्डेन क्रसओभर भएपछि बजारमा सेयर किन्ने नीति लिन्छन् भने ‘डेथ क्रसओभर’ हुँदा बिक्री गर्ने।
यसअघि गत असार १६ गते नेप्से २०३७ बाट बढ्दै गर्दा पनि गोल्डेन क्रसओभर देखिएको थियो। बजार बढेर ३००१ विन्दु पुग्दासम्म पनि पाँच दिने मुभिङ एभरेज रेखा माथि नै थियो।
तर, बजार त्यसपछि घट्न थाल्यो। भदौ १३ गते तिर आइपुग्दा २० दिने मुभिङ एभरेज रेखा पाँच दिने रेखाभन्दा माथि आयो र बजार घट्ने लगभग पक्का संकेत गर्यो। त्यसपछि २४६४ विन्दुमा आएर बजार घट्न रोकियो। अहिले २६९० मा बजार आइपुग्दा यसमा गोल्डेन क्रस ओभर बनेको हो।
यो प्राविधिक विश्लेषण विश्वसनीय नै हुन्छ। दीर्घकालिन लगानी नीति लिनेहरूले यसलाई धेरै पछ्याउँछन्। तर, कहिलेकाहीँ भने यस्तो प्रभाव केही थोरै समयसम्म मात्र पर्नेगर्छ। कहिलेकाहीँ नेप्सेमा यस्ता प्रवृत्ति पनि चाँडो-चाँडो परिवर्तन हुने गरेको यसअघिको विश्लेषणले देखाएको छ।
बजार बढ्न सक्ने संकेत कारोबारमा आइरहेको सुधारले पनि देखाइरहेको छ। चार दिनअघिसम्म दैनिक तीन/चार अर्ब रूपैयाँको मात्रै कारोबार भएकोमा अहिले सुधार हुँदै सात अर्बसम्म कारोबार हुन थालेको छ।
सोमबारपछिको कारोबार गरेका लगानीकर्ताले दसैंअघि भुक्तानी नपाउने भए पनि कारोबार रकम बढ्नुले बजारमा लगानी नै बढेको यसले संकेत गर्छ। अघिल्ला वर्षहरूमा दसैं लागेसँगै बजारमा कारोबार सुस्तिने गरेकोमा अहिले बढ्नुले पनि सकारात्मक संकेत गरिरहेको छ।
आगामी दुई दिनमा मानिसहरू राजधानी छोड्ने क्रम बढ्दै जाँदा भने कारोबार रकममा केही कमी आउने सम्भावना भने कायमै छ।
त्यसबाहेक दसैंलगत्तै कर तिर्नुपर्ने र लगानीकर्ताहरूलाई बैंकहरूबाट मार्जिन कल आउन सक्ने भएकोले त्यसको पनि केही प्रभाव देखिन सक्छ।
अहिले नेप्सेले पटक-पटक २७ सयको विन्दुमा आएर सामान्य प्रतिरोध पाइरहेको छ। यो प्रतिरोध कति सजिलै पार गर्छ त्यसैमा बजारको आगामी दिशा तय हुनेछ। त्यसैले लगानीकर्ताहरूले यस्ता विविध पक्षलाई ध्यानमा राखेर लगानी गर्नु सही हुन्छ।