चिया मेरो साथी;
देवांश देबकोटा
कृषि बिद्यार्थी
चिया एकदमै मिलनसार र सबैसँग घुलमिल पेय पदार्थ हो, चाहे दूध बिना होस् या कालो, चिनी रहित होस् यासहित। बिहान पख चिया कपमा हालेर पहिलोपल्ट सुरुप्प पारेर घाँटीबाट तल खसल्दा बडो आनन्दित महसुस हुन्छ। हरेक दुःख, पीडा, भोकको औषधि जस्तो लाग्छ चिया। तनाव हुँदा होस् या मन भक्कानिँदा होस्, आफू आफैसँग भलाखुसारी गर्दै चिया पिउँदा आधा तनाव कम भएको महसुस हुन्छ।
कतै इष्टमित्र वा अपरिचित व्यक्तिकोमा गयो, बाबु कता त्यत्तिकै जाने त, लौन एक कप चिया पिएर त जानुहोस्। आफू पनि चिया भनेपछि नाई भन्नै नसक्ने। साथीभाइसँग रमाइलो गर्दा किन नहोस् यो चिया त्यही
उपस्थित हुन्छ। खाजा के खाने त भन्दा पहिला चिया खाउ अनि खाजा बिस्तारै सोचौला। आन्द्रा बटार्रिएर उर्लिएको भोक चियाले सजिलै मेटाइदिन्छ। कहिल्यै पनि दुःखमा निराश भएर अनि सुखमा उम्लिएर चियाको
स्वाद नलिनुहोस्।चाहे दुःख होस् या सुख आफू स्थिर रहेर मलिनो स्वरमा चियासँग भलाकुसारी गर्दै, ती रसिला दुई आँखाले नजिकबाट नियाल्दै, कपले ओठमा छोई सुरुप्प पार्दा लाग्छ कि यो मेरो दुःख,सुख दुवैको साथी हो। भनिन्छ चिनी बढी सेवन गरियो भने तितो हुन्छ भनेझैं चियालाई चिनियो भने यो अमृत हो नत्र विष पनि हुन सक्छ।
मानिसहरू भेट हुँदा भन्छन्, ओहो! जाउँ न त कतै बसौँ चियासिया खाउला अनि दुःख सुखका गफ गरौँला। उनीहरू एकअर्काबीच दुःख सुख त साट्लान तर कस्को उपस्थितिमा त भन्दा त्यही चियाको। आखिर पर्दा पछाडिको मिलनसार साथी त चिया नै रहेछ। फेरि मैले यसमा चिया र चिया खानेहरूलाई मात्र जोड्न खोजेको हुँ। मानिसहरू चिया मनपर्छ, त्यसको स्वाद मिठो हुन्छ भन्दैमा Tea lover भन्छन्। हुन त आआफ्नो धारणा होला, मलाई त के लाग्छ भन्दा मेरो भोक ,सुख, दुःख र कहिलेकाहीँ त टाउको दुख्दाको समेत चौतारी हो चिया।
सुनिन्छ कहीँ कतै चिया खाएर यस्तो भो उस्तो भो, तर वास्तवमा चियालाई चिनिएन भने यसले बडो दुःख पनि दिन्छ। उही त हो नि भात धेरै खाएर भुँडी लागेपछि हामी के भन्छौं, ओहो! भात त खाने नै होइन
यसले त रोग निम्त्याउँछ रे। जे कुराको नि सिमित रेखा हुन्छ त्यसबाट बाहिर गइयो भने हामी आफै नष्ट हुन्छौ।यसो समय मिलेको बेला एकैछिन मस्तिष्क ठण्डा राखेर सोचौँ त मैले भातको उदाहरण दिए जस्तै चियालाई पनि लिएर। ए चिया त हो नि एकैछिनमा बन्छ दिनको जति पटक खाए पनि भइगो नि भन्ने धारणा छ भने यो जस्तो ठूलो शत्रु अरु कोही हुँदैन।
बुबाआमा कहिँ कतै जान लाग्नुभयो भने साना छोराछोरीले जहिले म पनिजान्छु भनेर पिछा गरिरहन्छन् तर कता लैजाने, नलैजाने ,के खुवाउने, कस्तो बनाउने भन्ने आमाबुबामा भरपर्छ। हो त्यसरी नै चिया पनि हाम्रै
वरिपरि घुमिरहन्छ र यसलाई सही तरिकाले सेवन गरियो भने हाम्रो घनिष्ठ मित्र बन्न पुग्छ। त्यसैले अन्तर मनसँग गाँसिएको चिया बिना दूध पनि दूध हालेको जस्तै देख्न थालेको छु म।