काठमाडौं । जापानमा आयोजना भइरहेको २०औँ एसियन गेम्सको औपचारिक उद्घाटन आज हुँदैछ । स्थानीय समयअनुसार साँझ ६ बजे नागोया सिटीस्थित मिजुहो पार्क एथलेटिक्स स्टेडियममा उद्घाटन समारोह आयोजना हुनेछ ।
औपचारिक उद्घाटनअघि नै केही खेल सुरु भइसकेका छन् । जापानको एआइची प्रिफेक्चरका विभिन्न सहरसँगै गिफु, शिजुओका, टोकियो र ओसाकामा समेत विभिन्न खेलका प्रतियोगिता सञ्चालन भइरहेका छन् ।
जापानले तेस्रोपटक एसियाली खेलकुद आयोजना गर्दैछ । यसअघि सन् १९५८ मा र १९९४ मा एसियन गेम्स आयोजना गरेको थियो । ३२ वर्षपछि जापानमा फर्किएको एसियन गेम्समा ४३ खेलका ७१ विधामा ४६९ पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा करिब १७ हजार खेलाडी तथा अफिसियल सहभागी हुँदैछन् । मिक्स्ड मार्सल आट्र्स, प्याडेल, सर्फिङ, भर्चुअल तेक्वान्दो र टेकबललाई नयाँ खेलका रूपमा समावेश गरिएको छ । यस्तै ई–स्पोट्र्स र ब्रेकिङले पनि स्थान पाएका छन् । सहभागी खेलाडी तथा अफिसियल टोलीलाई होटल र क्रुजमा राखिएको छ ।
नेपालबाट १३५ खेलाडी
२०औं एसियन गेम्समा नेपालबाट २१ खेलका १३५ खेलाडी सहभागी भएका छन् । जसमा ५७ महिला र ७८ पुरुष खेलाडी छन् । यस्तै २९ प्रशिक्षक, १७ व्यवस्थापक, २ खेल प्राविधिक पनि सहभागी हुनेछन् ।
नेपालबाट आर्चरीका २, एथलेटिक्सका ६, ब्याडमिन्टनका ४, बक्सिङका ७, क्रिकेटका १५, साइक्लिङका २, गल्फका ४, जुडोका ६, कबड्डीका २४, करातेका ८, र्याफ्टिङ एन्ड क्यानोइङका २, स्केट एन्ड स्केट बोर्डिङका २, सफ्ट टेनिसका ४, स्क्वासका २, पौडीका ५, टेबलटेनिसका ६, तेक्वान्दोका ३, टेनिसका ५, भलिबलका १२, कुस्तीका ६, उसुका १० खेलाडीले एसियन गेम्समा प्रतिस्पर्धा गर्नेछन् । नेपाल महिला भलिबलमा भने पदक दौडबाट बाहिरिसकेको छ ।








