दसैं आँगन ढोकामै आइपुग्दा बजारमा नयाँ नोटको बास्ना आउन थालेको छ। विगतका वर्षहरूमा नयाँ नोट हात पार्न असोजको झर्कोलाग्दो घाममा राष्ट्र बैंकको कार्यालयअगाडि घण्टौं लाइन बस्नुपर्ने बाध्यता हुन्थ्यो। तर, यसपालिको दृश्य र व्यवस्था दुवै फेरिएका छन्।
दुई वर्षसम्म चलनचल्तीका सुकिला नोटमा चित्त बुझाएका सर्वसाधारणका लागि यसपालि राष्ट्र बैंकले नयाँ नोटको पुनरागमन गराएको छ, त्यो पनि बिना झन्झट र बिना लाइन।
आफ्नो पायक पर्ने बैंक तथा वित्तीय संस्थाको काउन्टर पुग्ने ग्राहकहरू खुसी देखिन्छन्। रामेछापका रमेशकुमार बोहराले भने, ‘पहिले–पहिले दसैंमा नयाँ नोट लिन बिहानैदेखि लाइन बस्नुपथ्र्यो। यसपालि भने आफ्नै बैंकबाटै सहजै पाइयो।’
राष्ट्र बैंकले यस वर्ष नयाँ नोट सटहीका लागि विगतमा जस्तो निश्चित मिति र विशेष सूचना निकालेर सर्वसाधारणलाई लाइन गराउने परिपाटी अन्त्य गरिदिएको छ। राष्ट्र बैंकको थापाथलीस्थित केन्द्रीय कार्यालय तथा सबै क्षेत्रीय कार्यालयहरूसँगै देशभरका बैंक तथा वित्तीय संस्थाका शाखाहरूबाट नयाँ नोट वितरण भइरहेको छ।
अघिल्ला दुई वर्ष राष्ट्र बैंकको वार्षिक नीतिअनुसार सुकिला नोट वितरण गरिएको भए पनि यसपालि मौज्दात पर्याप्त रहेकाले नयाँ नोट नै बजारमा पठाइएको हो।
राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले भनेको छ, ‘सार्वजनिक बिदाबाहेकका सबै दिनमा पायक पर्ने बैंक तथा वित्तीय संस्थाबाट ग्राहकले नयाँ नोट साट्न सक्नेछन्। वाणिज्य बैंकहरूलाई पहिले नै नयाँ नोटको भण्डार पुर्याइसकिएकाले काउन्टरमा भीडभाड नगरी सेवा लिन सकिने व्यवस्था मिलाइएको छ।’
यसपालि केही बैंकहरूले आफ्ना उपयुक्त एटीएम मेसिनमार्फत समेत १०० का नयाँ नोटहरू उपलब्ध गराउन थालेका छन्। सर्वसाधारणलाई आफ्नै बैंकको शाखाबाट सहज रूपमा नोट उपलब्ध गराएर सटही सेवालाई पहिलेभन्दा धेरै व्यवस्थित बनाइएको छ।
सामान्यतया नयाँ नोट भन्नाले छापाखानाबाट सिधै आएर प्रयोगमा नआएको नोट बुझिन्छ भने सुकिला नोट पहिले प्रयोग भइसकेका तर सफा र पुनः प्रयोगयोग्य नोट हुन्। दुवै कानुनी रूपमा उत्तिकै मान्य हुन्छन्। दसैं, तिहार र छठजस्ता पर्वमा दक्षिणा, किनमेल र यात्राका कारण नगदको माग साविकभन्दा ८ देखि १० प्रतिशतसम्म बढ्ने राष्ट्र बैंकको अनुमान छ।
असोजअघि बजारमा करिब ७ खर्ब ९४ अर्ब रुपैयाँ चलनचल्तीमा रहेको तथ्यांक छ। नगदको माग बढ्दैमा मुद्रास्फीति बढ्छ भन्ने निष्कर्ष भने निकाल्न मिल्दैन, किनभने बैंक निक्षेपबाट नगद झिक्दा रकमको स्वरूप मात्र परिवर्तन हुने हो।
नेपाल राष्ट्र बैंकले १ हजार रुपैयाँ दरको नयाँ बैंकनोट ‘सिरिज २०२५’ पनि प्रचलनमा ल्याएको छ। गभर्नर विश्वनाथ पौडेलको दस्तखत रहेको यो नयाँ नोटको आकार साविककै भए पनि रंग, संयोजन र सुरक्षण विशेषतामा व्यापक परिमार्जन गरिएको छ। बैजनी रंगको घेराभित्र फिक्का हरियो देखिने यो नोटको अगाडिको भागमा बायाँतर्फ सगरमाथा, दायाँतर्फ लालीगुराँस र ‘१०००’ अंकको पानीछाप रहेको छ।
नोटमा ३.५ मिलिमिटर चौडाइको चलायमान सुरक्षण धागो राखिएको छ, जसलाई सिधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिन्छ। दृष्टिविहीन व्यक्तिहरूले छोएरै नोट पहिचान गर्न सकून् भनेर नोटमा रोमन अक्षर ‘एम’ र स्पर्श रेखा राखिएका छन्। नोटको पछाडिपट्टि चितवनको सरकारी हात्तीसारमा देवकली नामको हात्तीबाट जन्मिएका प्रसिद्ध जुम्ल्याहा हात्ती ‘राम र लक्ष्मण’ को चित्र, ७ प्रदेशको प्रतिनिधित्व गर्ने ७ वटा लालीगुराँस र हनुमानढोकाको ल्होंचोकस्थित थामको आकृति समावेश गरिएको छ।
राष्ट्र बैंकले नोटको आयु बढाउन र राज्यको साधन स्रोत जोगाउन सर्वसाधारणलाई विशेष अनुरोध गरेको छ। केन्द्रीय बैंकका प्रवक्ता गुरु पौडेल भन्छन्, ‘नोट राष्ट्रको सम्पत्ति हो। नयाँ नोट प्रयोग गर्दा नोटमा नलेख्ने, स्टेपल नगर्ने, नच्यात्ने र अनावश्यक रूपमा मोडेर नराख्ने बानी बसाल्नुपर्छ। नोटको सही जतनले राज्यको करोडौं रुपैयाँ छपाइ खर्च जोगिन्छ।’








