काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मधेस प्रदेशको मतपेटिका हराएको भन्ने समाचार भ्रमपूर्ण रहेको निर्वाचन समितिले जनाएको छ।
सञ्चारमाध्यममा मतपेटिका हराएको समाचार प्रकाशित भएपछि समितिले ध्यानाकर्षण भएको जनाउँदै मतपेटिकाहरू प्रदेशको नामका आधारमा नभई क्लस्टरअनुसार नम्बर दिएर व्यवस्थापन गरिएको स्पष्ट पारेको हो।
निर्वाचन समिति संयोजक प्रेमबहादुर खड्काका अनुसार मतपेटिकामा मधेस, कोशी वा अन्य प्रदेशको नाम उल्लेख गरिएको छैन। त्यसको सट्टा पहिचानका लागि १, २, ३ लगायतका नम्बर राखिएको छ।
“मतपेटिका क्लस्टरअनुसार गन्दै लगिएको हो। मधेस प्रदेशको मतपेटिका हराएको भन्ने समाचार भ्रमपूर्ण हो। सबै मतपेटिकाको नम्बरिङ गरिएको छ,” खड्काले भने।
समितिले मतपेटिकाको व्यवस्थापनसम्बन्धी वास्तविक अवस्था बुझेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह गरेको छ।








