काठमाडौं । त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीले बाढीबाट क्षतिग्रस्त विद्यालय पुनर्निर्माणका लागि जग्गा उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

काठमाडौंमा आयोजित अन्नपूर्ण मिडिया नेटवर्क (एएमएन डे) कार्यक्रममा बोल्दै दवाडीले बाढीका कारण विद्यालयको ८६ रोपनी जग्गा बगरमा परिणत भएपछि सुरक्षित स्थानमा अस्थायी क्याम्प बनाएर पठनपाठन सञ्चालन गरिरहेको जानकारी दिए।

उनका अनुसार गत असोज ५ गतेदेखि अस्थायी स्थानमा कक्षा सञ्चालन भइरहेको छ। विद्यालय निर्माणका लागि जग्गा अभाव भएकाले नेपाल विद्युत् प्राधिकरणको जग्गा उपलब्ध गराउन सके पुनर्निर्माण अघि बढाउन सकिने उनले बताए।

दवाडीले बाढीको जोखिमबीच विद्यार्थीलाई सुरक्षित स्थानमा सार्न सफल भएको स्मरण गर्दै विद्यालयमा अध्ययनरत १ हजार ६४३ विद्यार्थिमध्ये करिब ९५ प्रतिशत विद्यार्थी अहिले पनि अस्थायी क्याम्पमै अध्ययन गरिरहेको जानकारी दिए। व्यापारका सिलसिलामा आएका अभिभावकका केही विद्यार्थी भने काठमाडौंलगायतका स्थानमा सरेका छन्।

उनले जलवायु परिवर्तन र प्राकृतिक विपद्का कारण नदी तटीय क्षेत्रमा जोखिम बढ्दै गएको उल्लेख गर्दै सरकारले विपद् पूर्वतयारी, जोखिम न्यूनीकरण र प्रभावितको पुनःस्थापनामा प्राथमिकता दिनुपर्ने बताए।

हिमाली क्षेत्रका नदी करिडोरलाई सुरक्षित बनाउन तथा विपद् प्रभावितका समस्या उजागर गर्न सञ्चारमाध्यमले निरन्तर भूमिका खेल्नुपर्नेमा पनि उनले जोड दिए।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय